बोर्ड अध्यक्ष केसीले भने- कसैलाई काखा र कसैलाई पाखा गर्दिनँ



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मसँग सम्बन्धित सबै समस्याको समाधान गर्न आफू तयार रहेको बताएका छन् । उनले आफ्नो नजरमा चलचित्रसँग जोडिएका सबै सङ्घसंस्था प्रिय रहेकाले कसैलाई ‘पूर्वाग्रह’ नगर्ने जनाएका हुन्।

चलचित्र प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घले केसीलाई सम्मान र बधाई दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले यो कुरा बताएका हुन्। ‘सबै संस्था मेरा लागि उत्तिकै प्रिय छन् । कसैलाई काखा र पाखा गर्दिनँ’, उनले भने, ‘चालिस वर्षको फिल्मी करियरमा मैले केही कुरा सिकेँ । अझै धेरै सिक्न बाँकी छ। नेपाली चलचित्र उद्योगलाई संसारभर फैलाउन मेरो पहल पनि रहने छ।’

अध्यक्ष केसीले चलचित्र हल चलचित्रका लागि मन्दिरसरह रहेकाले त्यसको संरक्षण र विकासमा आफ्नो ध्यान जाने बताए । ‘मन्दिर नै छैन भने चलचित्रकर्मीले कहाँ गएर पूजा गर्ने ?’, उनले प्रश्न थियो, ‘त्यसकारण मन्दिर सरह रहेको चलचित्र हलको वृत्ति विकासमा विशेष चासो रहने छ।’

नेपाली फिल्मप्रति दर्शकको चासो बढिरहेको जानकारी दिँदै अध्यक्ष केसीले नेपालमा अझ राम्रा फिल्म हलको आवश्यकता औंल्याए। उनले फिल्म क्षेत्रका लागि राज्यले गर्नुपर्ने सहयोग प्राप्त नभइरहेको अवस्थामा आफ्नो आगमनले त्यसमा केही सहजता ल्याउने बताए। सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले केसीलाई फिल्मकर्मीको विश्वास नतोड्न आग्रह गरे।

चलचित्र विकास बोर्डका कार्ययोजनामा हलवाला अन्तिम प्राथमिकतामा पर्ने गरेको स्मरण गर्दै वर्तमान अध्यक्ष फिल्म क्षेत्रको व्यवसाय बुझेकाले यसको विकासका लागि विशेष पहल गर्नुपर्ने बताए।

पूर्व अध्यक्षद्वय नकिम उद्दीन र राजकुमार पोखरेलले बोर्डले लामो समयदेखि फिल्ममा भिजेका अनुभवी व्यक्तिलाई पाएकाले अध्यक्ष भुवनले त्यो अनुभवलाई सफल रुपमा योजनाको कार्यान्वयन गरेर फिल्मको विकास गर्ने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्