सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने



काठमाडाैं : सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ ।

 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपसँग वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । 

 

चिनियाँ कम्पनी गेजुवाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा चासो व्यक्त गरेको र निर्माणका लागि तयार रहेको भन्दै सरकारलाई पत्र लेखेको थियो । गत भदौ १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चिनियाँ कम्पनीले उक्त पत्र पठाएको थियो ।

 

सरकारले निजी तथा अन्य लगानीकर्तालाई समेत आयोजना निर्माणका लागि आग्रह गरेको थियो । चित्तबुझ्दोरुपमा कुनै पनि कम्पनी लगानीका लागि तयार नभएको अवस्थामा सरकारले विद्युत् ऐनको दफा ३५ अनुसार करार सम्झौता गरी आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई दिनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्