सरकार रेलवे कम्पनी ब्युँताइँदै, कुर्था–जयनगर रेल तिहारसम्ममा सञ्चालनमा आउने  



सञ्चिता घिमिरे

जनकपुरधाम : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २ सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् ।  ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ । रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ । उनले भने, “सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ ।”

कम्पनी चलाउन २ सय बढी जनशक्ति आवश्यक पर्छ । एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा प्राविधिक, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएकोले विभागले कर्मचारी माग गरेको हो । मुलुकमा रेलसम्बन्धी छुट्टै नियम छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै यो सञ्चालन भएकोमा अहिले रेल सञ्चालनको छुट्टै विनियमावली बनिरहेको बताइएको छ । उनले भने, “रेल सेट आउँदै गर्दा हामीले विनियमावली र सङ्गठन संरचना बनाउने काम अघि बढाएका छौँ ।”

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो । विभागका प्रवक्ता अमन चित्रकारले दुई महिनाभित्रमा रेल नेपाल आइपुग्ने बताए  । पहिलोचरणमा एउटा सेट मात्र आउनेछ । 

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरिद गर्न लागिएको हो । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ । दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता १ हजार २ सयसम्म यात्रु बोक्नेछ । प्रवक्त चित्रकारले भने, “अहिलेको क्षमताभन्दा एक÷दुई सय तलमाथि हुनसक्छ ।”

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनको भनाइ थियो । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ । गत महिनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो । क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमा नै काम गरिसक्ने जनाइएको छ । प्रवक्ता चित्रकारले भने, “हस्तान्तरण भइनसकेकाले भारतीय कम्पनीले नै काम गर्नेछ ।”

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो । भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन । रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।

सीमाक्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्