बाग्मती प्रदेशको सुविधा सम्पन्न सभा हल निर्माण कार्य अलपत्र



  • सुमन दाहाल

हेटौँडा । तत्कालीन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको बाग्मती प्रदेशको सुविधा सम्पन्न सभा हल निर्माण कार्य अलपत्र परेको छ। १० मङ्सिर २०७७ मा पौडेलले सभा हलका लागि शिलान्यास गरेको हेटौँडा–२ स्थित उपमहानगरपालिका पछाडिको भवन निर्माणस्थल अहिले घाँसे जङ्गलमा परिणत भएको छ।

तत्कालीन प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभा हल निर्माण गर्न ९ कात्तिक २०७७ मा संरक्षण निर्माण जेभी कम्पनीसँग ५ करोड २६ लाख ८३ हजार रुपैयाँमा सम्झौता गरेको थियो।समयसमयमा हुनुपर्ने अनुगमन र निर्देशन नहुँदा १९ वैशाख २०७९ सम्म सम्पन्न भइसक्नुपर्ने उक्त सभा हल निर्माणाधीन अलपत्र अवस्थामा छ।

अहिले उक्त क्षेत्रमा पानीको ट्याङ्की, ट्र्याक्टर छन् । परिसरभित्र रहेका रडहरू खिया लागेको अवस्थामा देखिन्छन् भने राखिएका इँटा र ढुङ्गा–गिटी–माटोलाई घाँसले छोपेको अवस्था छ । निर्माणस्थल परिसरमा जाने गेटमा भने ताला लगाइएको छ। निर्माण कम्पनीले भवनको जग मात्र खनेर १ करोड ४ लाख २२ हजार रुपैयाँ भुक्तानी लिएको महालेखापरीक्षकको कार्यालयले चौथो वार्षिक प्रतिवेदन, २०७९ मा सार्वजनिक गरेको छ।

‘२०७९ वैशाख १९ गते निर्माणस्थलको स्थलगत अवलोकन गर्दा निर्माण स्थलमा व्यवसायी तथा निजका कामदारहरूको उपस्थिति नदेखिएको र डीपीसी गरी छाडेको भवन निर्माणस्थलमा झारपात उम्रेको अवस्थामा देखियो, जसबाट निर्माण कार्य गर्ने अवधिभित्र कार्य नगरेको कारण म्याद थप माग गरी समयमै कार्य सम्पन्न हुन सक्ने देखिँदैन’, महालेखाले प्रतिवेदनमा भनेको छ, ‘कार्यालय प्रमुख तथा प्राविधिकले सम्झौताको २ वर्ष अवधिमा डीपीसी मात्र बनाउने निर्माण व्यवसायीले पेस गरेको कार्यतालिकाअनुसार कार्य नगरेको यकिन गरी तोकिएबमोजिम कारबाही गर्नुपर्दछ ।’

राजनीतिक किचलोले सरकारको ध्यानै गएन

तत्कालीन मुख्यमन्त्री पौडेलपछि बाग्मती प्रदेशले थप २ जना मुख्यमन्त्री पायो। तत्कालीन विकसित राजनीतिक घटनाक्रमसँगै २ भदौ २०७८ मा पौडेलले प्रदेशको नेतृत्व तत्कालीन नेकपाकी नेत्री प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई सुम्पिए।

२९ माघ २०७४ मा मुख्यमन्त्री बनेका पौडेलले करिब ४ वर्ष प्रदेश सरकार चलाए। पौडेलपछि शाक्यले प्रदेशको कार्यभार सम्हालिन्। केन्द्रको विकसित राजनीतिको प्रभाव प्रदेश सरकारमा समेत पर्‍यो, जसले गर्दा प्रदेशको गौरवको आयोजनासमेत रहेको सभा हल निर्माणमा न प्रदेश सरकारको ध्यान गयो, न त मन्त्रालयको र कर्मचारीको नै।

विकसित राजनीतिक घटनाक्रमसँगै शाक्यले २ महिनामै प्रदेशको नेतृत्व छाड्नुपरेको थियो । १० कात्तिक २०७८ मा प्रदेशसभालाई सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेकी थिइन् । त्यसपछि ११ कात्तिक २०७८ मा राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको सरकार बन्यो ।

हाल पनि प्रदेशमा सत्ता गठबन्धनबाट नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का पाण्डे नेतृत्वको सरकार छ । तर, सभा हल निर्माण जस्तै प्रदेशका धेरै गौरवका योजनाहरू भने अलपत्र अवस्थामा छन् ।

सभा हल नहुँदा पार्टी प्यालेस जानुपर्ने बाध्यता

प्रदेशका मन्त्रालयहरू र उपमहानगरपालिका आफ्नै सभा हल नहुँदा ठूला कार्यक्रमहरू गर्नका लागि विद्यालय, पार्टी प्यालेस, पल्पसा हल, होटल धाउनुपर्ने अवस्था अहिले पनि छ।

तत्कालीन प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाले प्रयोग गर्ने गरी उपमहानगरपालिका कार्यालय पछाडिको खाली जग्गामा सभा हल निर्माण गर्ने र हलको स्वामित्व उपमहानगरको हुने गरी सहमति भएको थियो।

४०० क्षमताको उक्त सभा हल सम्पन्न भएपछि पार्टी प्यालेस जानुपर्ने समस्या हट्ने तत्कालीन हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले शिलान्यास कार्यक्रममा बताएका थिए । तर, समयमै सभा हल निर्माण नहुँदा उपमहानगरपालिकाको हालैको नगरसभा पनि पार्टी प्यालेस र होटलमै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्