आजदेखि पदावधि सकिएसँगै घर जाँदै एआईजी पोखरेल



काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आजदेखि अनिवार्य अवकाश पाएका छन् । प्रहरी नियमावलीमा विद्यमान एआईजीको ५६ वर्षे उमेरहदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।

तर अनिवार्य अवकाशमा जानु चार महिना पहिले देखि नै उनी कार्यालयमा हाजिर भएका छैनन्। सरकारले गत वैशाख १८ गते आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि पोखरेल कार्यालयमा अनुपस्थित भएका हुन्।

वैशाख १९ गते सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। एआईजी पोखरेलले रिट खारेजसँगै साउन २ गते नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजिनामा पत्र बुझाएका थिए। तर प्रहरी प्रधान कार्यालयले राजीनामा स्वीकृतिका लागि प्रक्रिया नै अगाडि नबढाएपछि पोखरेल अनिवार्य अवकाशमा गएका हुन्।

प्रहरी प्रधान कार्यालयमै पुगेर राजीनामा दिए पनि आईजीपी धीरजप्रताप सिंहले राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि नबढाएका हुन्। चुनावको मुखमा लामो बिदा बसेर सरकारको निर्णयलाई चुनौती दिएपछि उनको राजिनामा स्वीकृत गर्न सरकारले खासै चासो दिएन।

सेवा अवधिका हिसाबले आगामी चैतसम्म समय भएपनि आफ्नै उमेर हदका कारण पोखरेल छिटो अवकाश भएका हुन्। उनी २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। उनको अवकाशसँगै प्रहरीमा एआइजीको एक पद रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्