उदयपुरमा बेरुजुको अवस्था : कटारीमा सबैभन्दा बढी, उदयपुरगढीमा घट्यो



उदयपुर । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ । प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०७७र०७८ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएकोे छ ।

कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको चाँङ बढेको छ भने लिम्चुङबुङ गाउँपालिकाले बेरुजु रकम घटाउन सकेनन् । ती पालिकामा आर्थिक वर्ष २०७६/०७७ भन्दा झन बेरुजु बढेर आएको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्ब ८५ करोड २७ लाख ७४ हजारमध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यसअघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो ।

त्रियुगा नगरपालिकामा २ अर्ब ४२ करोड ६२ लाख १६ हजारमध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यसअघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।

चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख १३ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्व ८१ करोड ३१ लाख ३३ हजारमध्ये २.१८ प्रतिशत बेरुजु छ ।

यसअघि चौदण्डीगढीमा १ करोेड ९६ लाख ३८ हजार बेरुजु थियो । लिम्चुङबुङ गाउँपालिकामा ६५ करोड ८१ लख २७ हजार रकममध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४।२९ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो ।

बेलका नगरपालिकासहित उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिकामा बेरुजु घटाउन सफल भएको छ । बेलका नगरपालिकाको यसअघि ४ करोड १ लाख ७९ हजार अर्थात २.७९ प्रतिशत बेरुजु घटेर १.९४ प्रतिशतमा झरेको छ । बेलका नगरपालिकामा १ अर्ब ५६ करोड ३९ लाख २१ हजारमध्येबाट ३ करोड ३ लाख ७४ हजारमा झरेको छ ।

ताप्ली गाउँपालिकामा ७९ करोड ३९ लाख ५९ हजारमध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्व १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार रहेको छ ।

उदयपुरगढी गाउँपालिकामा १ अर्ब २१ करोड ८८ लाख ६ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०.३८ प्रतिशत रहेको छ । यसअघि ९८ लाख ४ हजार अर्थात ०.८३ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्