१ करोड बढी राजश्व चुहावटको आरोपमा रेस्टुरेन्ट सञ्चालकविरुद्ध मुद्दा दायर



काठमाडौं । १ करोड रुपैयाँ भन्दा बढी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीको एक रेस्टुरेन्ट सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका-१३, बुद्धनगरस्थित साझा रेष्टुरेन्टका प्रोप्राइटर ४१ वर्षका प्रकाश यादव र सोही नगरपालिका-१४, कालीमाटी बस्ने वर्ष २० का विष्णु यादवविरुद्ध मुद्दा दायर गरिएको हो।

उनीहरु विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

साझा रेष्टुरेन्टका प्रोप्राइटरद्वय यादवले आफ्नो फर्मका सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी, नियमानुसार मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरी, कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकम मध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर ठूलो परिमाणको बिक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छलि गरी राजस्व चुहावट गरेको आरोप छ।

सो रेस्टुरेन्टले आयकर तर्फ  ५१ लाख ४१ हजार ९०२ र मूल्य अभिवृद्धि कर तर्फको  ५६ लाख ९४ हजार ६२१ गरी जम्मा रकम  १ करोड ८ लाख ३६ हजार ५२३ मात्र राजस्व चुहावट गरेको पाइएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्