सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको अवस्था कस्तो छ ?, कसरी हुँदै छ उपचार



काठमाडौं :  करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उहाको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ ।

‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले राजधानीसँग भने ।

प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए ।

मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको बताए । उनले भने, ‘ट्रान्सप्लान्ट गरिएको किड्नी बिस्तारै कमजोर भएपछि प्रधानमन्त्री ओलीलाई सिंगापुर लगिएको हो । त्यसपछि पहिलो चरणको उपचार सुरु भयो । पहिलो चरणमा भएको उपचारबाट प्रधानमन्त्रीमा के सुधार भयो ? कस्तो अवस्था छ ? यसबारे जान्न सिंगापुर जानुपरेको हो ।’

प्रधानमन्त्रीको मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन् । उहाँको शरीरमा इन्फेक्सन भएको छैन । तसर्थ, मिर्गौला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ, सजिलै प्रत्यारोपण हुन सक्छ । 

ऋषि काफ्ले 

वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ

मिर्गौला पुनः फेर्न सकिने

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । उनले भने, ‘उहाँका मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन् । उहाँको शरीरमा इन्फेक्सन पनि भएको छैन । तसर्थ, मिर्गाैला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । सजिलै प्रत्यारोपण हुन सक्छ ।’ केही देशका विशिष्ट अस्पतालमा ७५ वर्षमा पनि शरीर स्वस्थ भए मिर्गौला प्रत्यारोपण सम्भव हुने मिर्गाैला रोग विशेषज्ञले बताएका छन् । प्रधानमन्त्री ओलीको मिर्गौलाले विगतमा ६० प्रतिशत बढी काम गरे पनि अहिले ३० प्रतिशतले काम गर्दै आएको चिकित्सकको भनाइ छ ।

करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि उनी यसअघि १८ साउनमा सिंगापुर गएका थिए । उनले १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार गराएका थिए ।

उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनुपर्ने चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली पुनः गत बिहीबार सिंगापुर पुगेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य र निजी चिकित्सक डा. दिव्यासिंह शाह छन् ।

डा. शर्माले एन्टिबडी बन्ने प्रक्रिया रोक्ने र बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिने बताए ।

के हो एन्टिबडी ?

व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ । त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पु-याउँछ । क्रिएटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनायो भनेर बुझ्नुपर्छ । अधिकांश एन्टिबडी मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ । राजधानी दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्