फोहोरलाई भान्सामै कुहिने र नकुहिने प्रकारमा छुट्याए मात्र दिगो व्यवस्थापन



काठमाडौँ । सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । शुक्रबार काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो । कार्यक्रम स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रीत थियो । केन्द्रीत विषयमा टिप्पणी गर्दै सहभागीबाट फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानको पनि सँगसँगै चर्चा गर्नुपर्ने सुझाव रादिएको थियो ।

कार्यक्रमको समूहगत छलफलमा काठमाडौँ महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौँ महानगरपालिकाले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए । हामी उत्तरदायी हौँ । फोहोर व्यवस्थापनको काम हामी नै गर्छौँ । फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनमा समस्या आउने गरेका छन् । तिनको समाधानमा हामी आफैँ गर्छौैँ । डंगोलको भनाइ थियो ।

समूहगत छलफलमा महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले महानगरले फोहोर व्यवस्थापन गर्न समुृदायको चेतना बढाउनेदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम गरिरहेको जानकारी दिइन् । त्यस्तै ग्रीन पाथ नेपालका निर्देशक प्रदीप अमात्यले फोहोरलाई कम्पोष्ट गर्न भान्साबाटै काम थाल्नु पर्ने बताए । त्यस्तै ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी नविनविक्रम महर्जनले उत्पादनदेखि व्यवस्थापनसम्मको चक्रमा पर्ने सबै कामलाई एकीकृत गरेपछि मात्र फोहोर व्यवस्थापनमा दिगोपना आउने बताउनुभया् । त्यस्तै संयुक्त सफाइ जागरणकी अध्यक्ष शान्ति तामाङ्ले ट्रान्सफर स्टेशनमा फोहोर वर्गीकरण गर्न सकिने र यसमा अनौपचारिक क्षेत्रका मानिसहरुले सहयोग गर्ने धारणा राखिन् ।

नगरपालिका वा ल्याण्डफिल साइटका मानिसहरुलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गर्नुपर्छ । छलफलमा सहभागी वक्ता र टिप्पणीकर्ता सहभागीको मत छ । छलफलको निष्कर्षका बारेमा जानकारी दिँदै कार्यक्रमका सहजकर्ता वातावरणविद् भुषण तुलाधरले भने ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । यसको सुुरुवात घरबाट होइन भान्साबाट फोहोर वर्गीकरण गर्न थाल्नुपर्छ।’

कार्यक्रममा वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोरको दिगो व्यवस्थापनका लागि नीजि तथा गैरसरकारी र अनौपचारिक क्षेत्रको योगदानलाई संस्थागत गर्नुपर्ने बताए । सिफेडका प्रमुख कार्यकारी वातावरण वैज्ञानिक रामचरित्र शाहले अध्ययन उधृत गर्दै फोहोरमा काम गर्ने व्यक्तिहरुको रगतमा शिशा (लेड) देखिएको तथ्य सुनाए ।

मेड्सा डु मोन्डले काठमाडौँ महानगरसँग सम्झौता गरेर वडा १९ को साविक सहरी स्वास्थ्य क्लिनिकलाई स्तरउन्नति गरेर ओपिडीसहितको सेवा सञ्चालन गरेको छ । अनौपचारिक क्षेत्रबाट फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरुलाई लक्षित समूह बनाएर यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मेडसा मेड्सा डु मोन्ड फ्रान्स नेपाल मिसनका कार्यक्रम प्रबन्धक अस्मिता थापाले, बागमती र विष्णुमती नदी किनारामा रहेका अनौपचारिक क्षेत्रका सफाइकर्मीहरुको स्वास्थ्य तथा सामाजिक विकासका लागि काम भइरहेको बताए ।

कार्यक्रममा काठमाडौँ महानगरको वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, ६ का अध्यक्ष भुवन लामा, २९ का अध्यक्ष कुश ढकाल, मिस नेपाल अर्थ २०२२ डा.सरिसा श्रेष्ठसहित क्षेत्रगत पदाधिकारीहरुले भाग लिएको थियो ।
मेडसा फ्रान्सेली डाक्टरहरुले स्वास्थ्य उपचार सहज बनाउन स्थापना गरेको विश्वभरका डाक्टरहरुको संस्था हो । यसले काठमाडौँका अनौपचारिक क्षेत्रमा काम गर्ने सफाइकर्मीहरुको आर्थिक उत्थानका लागि फालिएका प्लाष्टिक र कपडामा आधारित उद्यम स्थापना गरेर उनीहरुलाई सम्मानजनक रुपमा काम गर्न सक्ने उद्यमी बनाउने कामको थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्