पहिरो पन्छाएपछि हुर्लुङ-जालपा सडक सुचारु



खोटाङ । पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ-जालपा सडक सुचारु भएको छ। रावाबेँसी गाउँपालिका-६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो। उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए।

हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको हो। पहिरो पन्छाउने क्रममा लाग्ने खर्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने मौखिक सहमति छ। अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ। गत १७ असार यताको वर्षाले पटक–पटक हुर्लुङ–जालपा सडक अवरुद्ध भएको छ।

सडक ग्राभेल सुस्त

निर्माण कम्पनी रौता सुुसन आदित्य जेभीले हुर्लुङ–जालपा ८ किलोमिटर सडक ग्राभेलको ठेक्का लिएको छ। २४ महिनामा पुरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो। तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ। वर्षामा अवरुद्ध सडक खुलाउने जिम्मा रौता सुसन आदित्य जेभीको भए पनि बेवास्ता गरिरहेको वडाध्यक्ष राईले बताए।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो। हुर्लुङ–जालपा सडक स्विस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो। सो सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्