नुवाकोट केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प



काठमाडौं । नुवाकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प गएको छ। शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर गएको भूकम्पले काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।

यस्तै नुवाकोटसहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा पनि भूकम्पको महसुश भएको बताइएको छ ।हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन। यसअघि साउन १५ गते पछिल्लो पटक खोटाङ केन्द्र भएर भूकम्प गएको थियो।

२०७२ सालको भूकम्पपछि देशभरका विभिन्‍न स्थानहरुमा पराकम्प जाने क्रम चलिरहेको छ। २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्