टोकियो पुगे प्रचण्ड, विमानस्थलमा नेपाली राजदूतद्वारा स्वागत



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान जापानको टोकियो पुगेका छन्। पाँच दिने जापान भ्रमणका सिलसिलामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका थिए।

नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान गएका हुन्। अध्यक्ष प्रचण्डलाई विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेको उनको सचिवालयले जानकारी दिएको छ। यस्तै अध्यक्षको स्वागतका लागि जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि नारिता विमानस्थल पुगेका थिए।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्। उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने जानकारी गराइएको छ।

प्रचण्ड जापान गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्