बर्दीको आडमा मौलाउँदै सामाजिक अपराध



काठमाडौं । घटना हो गत १३ साउनको। बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलामाथि बलात्कारको प्रयास भयो। बलात्कारको प्रयास गर्ने व्यक्ति थिए, कोहलपुर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) प्रविण चौलागाईं ।

सो दिन अर्थात् शुक्रबार बिहान करिब २ बजेको समयमा बहुविवाह मुद्दामा हिरासतमा रहेकी एक महिलालाई कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत चौलागाईंले बलात्कारको प्रयास गरेपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गरिएको छ ।

मदिरा पिएर असई चौलागाईंले थुनुवा कक्षमा रहेकी ती महिलालाई रातको समयमा बोलाएर माथिल्लो तल्लामा रहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कार्यालयमा लगेर बलात्कार गर्न खोजे। इन्स्पेक्टरको कार्यकक्षमा लगेको थाहा पाएपछि प्रहरी थुनामा रहेका व्यक्तिले होहल्ला गर्दै विरोध जनाए । त्यतिमात्र होइन, सोही समयमा प्रहरी भ्यान आएको थाहा पाएपछि चौलागाईंले ती महिलालाई छाडेका थिए।

घटनाको भोलिपल्ट (शनिबार) पीडित महिलाले आफ्ना आमाबुबाका साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा असई चौलागाईँविरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन् । चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएलगत्तै उनी निलम्बनमा परेका छन् ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार प्रहरी आचरणविपरीतका काम गरेका चौलागाईंलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए । चौलागाईंले सोधपुछको बहानामा मध्यराति कोठमामा पु¥याई आफूलाई यौन दुव्र्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

१९ साउन साँझ चिनियाँ नागरिकसहित २ जना अपहरणमा परे । दोभासेसहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर ६ जना नेपाली युवाले गोङ्गबुको एउटा होटलमा बन्धक बनाएका थिए ।

सूचना पाएको २४ घण्टा नबित्दै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अपहरणमा परेका चिनियाँ नागरिकलाई गोङ्गबुकै एक होटलबाट उद्धार गरेको छ । त्यस्तै अपहरणमा संलग्न ६ जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमध्ये २ जना नेपाल प्रहरीकै कर्मचारी रहेको खुलेको छ।

चिनियाँ नागरिकको अपहरणमा उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी जवान शिव सुनार संलग्न रहेको तथ्य सार्वजनिक भयो । उनीहरूले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्यबहादुर राईलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेका थिए।

फिरौती लिने क्रममा प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा प्रहरी हवल्दार गुरुङ र प्रहरी जवान सुनारसहित लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र विनोद केसी छन् । पक्राउ परेकाहरूलाई म्याद थपका लागि बिहीबार नै प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

८ जेठ मा काठमाडौंको लैनचौरमा प्रहरीले नै ३५ लाख रुपैयाँ लुटेको खुल्यो । जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो।

प्रहरीसमेतको मिलेमतोमा ३५ लाख रुपैयाँ लुटिएको हो । जतिबेला एउटा समूहले सुन व्यापारीलाई आफूसँग एक किलो सुन भएको बताएको थियो । उक्त सुन सस्तो मूल्यमा बिक्री गर्न आफूहरू तयार रहेको समूहका व्यक्तिहरूले बताएका थिए।

सुन ३५ लाख रुपैयाँमा बेच्ने ‘डिल’ भयो । बजार भाउभन्दा निकै सस्तो मूल्यमा सुन पाउने भएपछि ती व्यापारी पनि लोभिए । उनले सुन किन्नका लागि पैसा जुटाए।

सुन बेच्ने गिरोहले लोकेसन दियो, लैनचौरको ब्याडमिन्टन कोर्ट । झोलामा ३५ लाख रुपैयाँको बिटो बोकेर ती व्यापारी सुन किन्न लैनचौर पुगेका थिए । डिल भएअनुसार ३५ लाख रुपैयाँ लिने र सुन दिने तयारी भइरहेका बेला व्यापारीको ३५ लाख लुटेर सुन बेच्न खोज्ने समूह फरार भयोे ।

नक्कली सुनको फोटोहरू देखाएर प्रलोभनमा पारेर उनीहरूले ३५ लाख रुपैयाँ लुटेर फरार भएका हुन् । यसरी ३५ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा प्रहरी कर्मचारी नै संलग्न रहेको तथ्य समेत खुलेको हो ।

घटनामा २ जना प्रहरीको संलग्नता भएको खुलेको छ । संलग्न हुनेमा १ जना सिपाही र अर्का हवल्दार रहेको प्रहरी स्रोतले बतायो । उक्त घटनालाई प्रहरीले अहिले पनि गुपचुपमा राखेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएकामध्ये केही व्यक्ति पक्राउ परे पनि प्रहरी कर्मचारी भने अझै फरार रहेका पाइएको छ ।

२३ जेठ २०७६ मा सेवाग्राहीसँग घूस लिँदै गर्दा तत्कालीन रुपन्देहीको इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) केशवबहादुर बस्नेत १५ हजार घूस रकमसहित रङ्गेहात पक्राउ परे । यस्तै ६ असारमा इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक रायलाई ठेकेदार दुर्गा लामासँग १२ हजार घूस लिँदै गर्दा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गर्‍यो ।

१० असारमा हुन्डी कारोबारको १० लाख रूपैयाँ लुटेको आरोपमा महानगरीय अपराध महाशाखाले प्रहरी हवल्दार धीरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गर्‍यो । जतिबेला विष्ट काठमाडौँ प्रहरी प्रमुख एसएसपीको घुमुवा थिए। ११ असारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारीसँग कनेक्सन देखिएको भन्दै ललितपुर परिसरमा कार्यरत इन्स्पेक्टर रुद्र शाहीलाई पक्राउ ग¥यो । त्यतिबेला शाहीले जिल्ला अप्रेसन हेर्थे ।

१२ असारमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्ट ५० हजार घूस रकमसहित रङ्गेहात पक्राउ परे । यी प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय कानुनको पालना गराउने निकायका अधिकृतहरू नै अपराधमा संलग्न हुन थालेका छन् । तर, प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंह भन्छन्, ‘प्रहरी हुँ भन्दैमा अपराध गर्ने कसैलाई पनि छुट छैन ।’

राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका प्रहरी अधिकृत/कर्मचारी आफैँ अपराधमा संलग्न हुने क्रम बढेसँगै प्रहरी सङ्गठनको बद्नाम पनि उत्तिकै भइरहेको छ। नागरिकको जनधनको सुरक्षा र कानुन कार्यान्वयनमा समेत कसैसँग कुनै प्रकारको सम्झौता नहुने आईजी सिंहको दाबी छ। बर्दीको आडमा अपराध गरेका प्रहरी निलम्बनमा परे पनि यस्तो प्रवृत्ति भने रोकिएको भने छैन ।

लागूऔषध कारोबार, वन्यजन्तु तथा सुन तस्करी, अपहरण र फिरौती असुली, चोरीडकैतीसहित अन्य सामाजिक, आर्थिक र सङ्गठित अपराधमा बर्दीधारीको दादागिरी बढ्दो छ । सस्तो लोकप्रियताका लागि बर्दीको आडमा ‘हिरो बन्ने’ प्रवृति सङ्गठनमा मौलाएको बुझ्न सकिन्छ।

‘राजनीतिक प्रभावमा र प्रतिशोधको भावनाले बर्दीको आडमा ‘फेक इन्काउन्टर’ गर्न पनि प्रहरी पछि हटेको छैन,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘प्रहरी हुँ भन्दैमा बर्दीको ध्वाँस देखाउन पाइँदैन।’ केही प्रहरीले इन्काउन्टरलाई बर्दीको ध्वाँस देखाउने माध्यम बनाएको त्रिपाठीको बुझाइ छ।

‘प्रहरीले इन्काउन्टरका नाममा बर्दीको ध्वाँस देखाउन पाउँदैन । तर, नेपालमा भएका इन्काउन्टरका घटना हेर्दा प्रहरीले बर्दीको ध्वाँस देखाउन खोजेको जस्तो लाग्छ,’ त्रिपाठीले भने । पछिल्लो समय प्रहरीसँग कुनै पनि घटनाको प्रभावकारी अनुसन्धान गर्ने क्षमता घट्दै गएको सुरक्षाविज्ञको निष्कर्ष छ ।

अनुसन्धान गर्ने भन्दा पनि ‘ठोक्दिऊँ, सिध्याइदिऊँ’ भन्ने संस्कार प्रहरीमा हुर्किएको छ। कानुन कार्यान्वयनका क्रममा प्रहरीबाट समेत त्रुटि र कमीकमजोरी भएका र त्यसलाई सुधार गरेर अघि बढ्ने प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए।

‘कानुन कार्यान्वयन गर्ने क्रममा हामीबाट पनि कमीकमजोरी भएका छन्, त्यसलाई सुधार गरेर अघि बढ्छौं,’ प्रवक्ता राईले भने, ‘तर गम्भीर अपराधमा संलग्न सुरक्षाकर्मी वा सर्वसाधारण जोकोही पनि कानुनी दायरामा ल्याउँछौं ।’ तर, केही प्रहरी कर्मचारीका कारण सिङ्गो प्रहरी सङ्गठनलाई नै बदनाम गरिनु नहुने राईको बुझाइ छ ।

किन गर्छन् प्रहरीले अपराध ?

अपराधीलाई कानुनको दायरामा ल्याउने नेपाल प्रहरीका कर्मचारी नै अपराधमा किन लागिरहन्छन् ? करिब ९० हजार जनशक्ति भएको प्रहरी सङ्गठनभित्र केही प्रहरी कर्मचारीहरू व्यक्तिगत लोभलालच, महत्वाकाङ्क्षाका कारण आपराधिक क्रियाकलापमा लाग्ने गरेको एकजना पूर्वडीआईजी बताउँछन् ।

प्रहरी सङ्गठनभित्र यस्तो विकृति बढ्नुको मुख्य कारण प्रहरी कर्मचारी लामो समयदेखि एकै ठाउँमा कार्यरत रहनु पनि एक कारण रहेको ती पूर्वडीआईजीले बताए । कतिपय प्रहरीले बहिरका सूचना ल्याउने होइन, सङ्गठनभित्रका सूचनाहरू बाहिर चुहाउने गरेको आरोप लाग्छ।

प्रहरी ऐन २०१२ बमोजिम कुनै पनि घटना वा मुद्दाको अनुसन्धान गरी सबुत प्रमाणसहित सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेस गर्ने कानुनद्वारा तोकिएको हो निकाय नेपाल प्रहरी ।

समाजमा शान्ति कायम गर्ने सिलसिलामा कानुनले गर्न नहुने काम भनी तोकिएको काम गरेमा प्रहरीले अभियुक्तलाई आफ्नो नियन्त्रणमा लिई वा नलिई सबुद प्रमाणसहित मुद्दा दर्ता गर्ने अधिकार नेपाल प्रहरीलाई छ । तर, सङ्गठनको बदनाम हुने गरी केही प्रहरी अपराधको बाटो समात्छन् ।

कडा अनुशासन हुने र चेन अफ कमान्डमा चल्ने सुरक्षा निकायमा हुने यस्ता घटना संवेदनशील मानिन्छ। यो समस्या राज्यका ४ वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) मा छ।

प्रतिक्रिया दिनुहोस्