भड्किलो बन्दै ‘तीज’ : मौलिकता हराएको हो वा समाजको माग नै परिवर्तन भएको हो ?



काठमाडौं : हिन्दू नारीहरुको महान चाड हरितालीका तीज अहिले पूर्व सन्ध्यामा छ । तीज नजिकैसँगै पसलदेखि गाडी, घर, विभिन्न कल कारखानाहरुमा तीजका गीत घन्किन सुरु भएको छ । यससगैँ महिला दिदीबहिनीहरु आपसमा भेटघाट गरेर मिठामिठा परिकार खाने तथा नाचगान गरेर रमाइलो गर्ने क्रम पनि सुरु भइसकेको छ, जसलाई दर खाने भनिन्छ ।  

यस चाडको मुख्य विशेषता भनेको महिलाहरु माइत गएर तीजको अघिल्लो दिन दर खाने तथा तीजको दिन आफ्नो पतिको दिर्घायु र सुस्वास्थ्यको कामना गर्नु हो । यससँगै अविवाहितहरुले पनि निकै श्रद्धाका साथ तीजको व्रत बस्ने गर्छन् । 

केही वर्ष यता भने दर खानेदेखि तीज मनाउने शैलीमा परिवर्तन आएको देखिन्छ । पहिले पहिले तीजको अघिल्लो दिन माइती पुगेर दिदीबहिनीहरु जम्मा भई राति अबेरसम्म नाचगान गरी, मध्यरातमा दर (खीर, दही र काँक्रो) अर्थात शाहाकारी खानेकुराहरु खाने गर्दथे । अहिले समयक्रमसँगै यसमा परिवर्तन आई विभिन्न्न पार्टी प्यालेस, रेष्टुरेण्टहरुमा जम्मा भई एक महिना अगाडिदेखि नै मासु, रक्सीजन्य पदार्थ, जंक फुड, तथा मिठाइ इत्यादिमा बढोत्तरी भएको पाइन्छ । 

सामाजिक रुपमा विवाह भएर टाढा गएकी अर्थात पराई घर गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय, अत्याचार, ज्यादतीको भण्डाफोर गर्ने संस्कृति बोकेको पर्वको रुपमा पनि तीजलाई लिन सकिन्छ । महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतीसँग समय बिताउने पर्व पनि हो तीज ।

समयको बहावसँगै समाजमा आएको परिवर्तनले संस्कृतिमा पनि व्यापक परिवर्तन आएको छ । यसको असर तीजमा निकै परेको देख्न सक्छौँ । अहिले हिन्दु नारीहरुको तीज मनाउने शैलिको धेरै नै आलोचना हुने गरेको छ , यसले समाजमा विकृति तुल्याएको पनि व्यापक उदाहरणहरु छन् ।  

दाङ गढवाकी ४७ वर्षीय उषा पाण्डे भन्छिन्- ‘हाम्रो पालाको तीजको रौनक नै छुट्टै हुन्थ्यो, तीज भन्ने सुन्नासाथ मन फुरुङ्ग हुन्थ्यो । सबै दिदीबहिनीहरुलाई तीज मनाउन सजिलो थियो, अहिले त रमाइलो गर्ने, वेदना पोख्नेभन्दा पनि गरगहना, कपडा देखाउने चलन आयो । चाडभन्दा पनि प्रदर्शनी जस्तो भयो ।’ 

सामूहिक रुपमा सबैजना भेला भई दर खाने दिन नै खानुपर्ने बताउँछिन् रामेछाप-मन्थली १ की स्थानीय शिक्षिका भगवती घिमिरे, उनी भन्छिन्- ‘आजभोली मनाईने तीज र दर खाने चलनले गर्दा हुने खाने र हुँदा खानेलाई निकै असर पारेको छ । म त भन्छु, पहिले जस्तै तीजको अघिल्लो दिन मात्र दर खाने चलन सरकारले नै ल्याउनुपर्छ अनिमात्र बढ्दो विकृति कम हुन्छ की !’

यसको लागि व्यापक रुपमा सांस्कृतिक चिन्तकहरुको राय सल्लाह सुझावहरु लिँदै बदलिएको परिस्थिति र आगामी दिनहरुमा तय गरिने कार्यक्रमहरुको बाटो सजिलो र फराकिलो पार्ने अभिभारा महिलाले लिनु पर्दछ ।

घरैभित्र बसेर नाच्दा, खाँदा मात्र तीज भड्किलो नहुने वा मनाउनुपर्छ भन्ने छैन् भन्दै कांग्रेस नेत्री डिला संग्रौला भन्छिन्- ‘वर्षमा एकपल्ट आउने चाड हो, घरमा पनि सबैजना त अटाइँदैन् ! दीदीबहिनीहरु आफूआफू पैसा उटाएर खुसी साटासाट गर्छन् भने सरकारदेखि कसैको टाउको दुखाई हुनु हुँदैन् ।’ उनी थप्छिन्, ‘यसबाट राम्रो सन्देश पाइन्छ, महिला सशक्तिकरण हुन्छ भने जता मनाउँदा पनि ठिक छ । पार्टीप्यालेस, रेस्टुरेण्टमा २,४ दिन अगाडिदेखि मनाउनु हुँदैन् भन्ने विषयमा म सहमत छैन् ।’

अब तीज आउँदा गरगहना नभएकाहरुले तीज कसरी मनाउने वा समाजको चरित्रलाइ नै बदल्ने त्यो भने टाढाको कुरा हो ।

तीजको समयमा गरगहना लगाउनै हुँदैन भन्न खोजिएको पनि होइन् तर जुन किसिमले अहिले तीज मनाइन्छ त्यसले विकृतीलाई मान्यता दिन्छ भन्ने चाहीँ पक्कै हो । एक अर्काको देखासिखीले समाजलाई कतातिर लान्छ भन्ने हो । त्यसैले तीज मनाऔँ तर समाजमा अपाच्य हुने काम नगरौँ । घाँटी हेरी हाड निलौँ ।

प्रतिक्रिया दिनुहोस्