रविसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता, चितवनमा प्रदर्शन



काठमाडौं : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी आज जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धानको काम पूरा भएको र सरकारी वकिलको कार्यालयमा पठाएको जानकारी दिए । सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए ।

योसँगै पत्रकार रविको रिहाइको माग गर्दै चितवनमा विशाल प्रदर्शन भएको छ । आइतबार रविसहित तीनै जना रिहा हुने आशमा चितवनमा जम्मा भएका रविका समर्थकले निषेधित क्षेत्र समेत तोडेर प्रदर्शन गरिरहेका छन् । हजारौँको संख्यामा समर्थकहरु सडकमा उर्लिएपछि पूर्व–पश्चिम चल्ने यातायात समेत प्रभावित भएको छ । 

सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनको भनाइ थियो । 

उनले यस मुद्दामा तीन प्रतिवादीमाथि लगाइएको दोष फरक फरक देखिएको भन्दै यसको निक्र्यौल अदालतले गर्ने बताए  । 

प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ । 

लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरि चितवन ल्याएका थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसै प्रकारका अन्य छ मुद्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्