प्रहरी हस्तान्तरण गर्न मधेस सरकारले दियो १ साताको अल्टिमेटम



जनकपुरधाम । निर्वाचन अगावै प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न माग गर्दै मधेस प्रदेश सरकारले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा गएको एक टोलीले आज प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । 

७ दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी ज्ञापन पत्रमा उल्लेख छ ।  

“हामीले पटक-पटक प्रहरी समायोजन गर्न संघ सरकारसँग आग्रह गर्दै आएका छौँ”, गृह तथा सञ्चारमन्त्री साहले भने,“तर सङ्घीय सरकारले कुनै गम्भीरता देखाएको छैन्, १ सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर सङ्घीय सरकार विरुद्ध सङ्घर्षमा उत्रिन्छौँ ।”

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माको समेत उपस्थिति रहेको थियो । 

उनीहरूका साथै प्रत्येक दलबाट प्रदेशसभा सदस्यहरू समेत ज्ञापन पत्र बुझाउनकालागि पुगेका थिए । मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो । 

यसका साथै मधेस प्रदेश सरकारको टोलीले राजधानी काठमाडौँ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धन दलका शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्