प्रचण्डले किन भेटे राष्ट्रपति भण्डारीलाई ?



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटघाट भएको छ । 

राष्ट्रपति भवन शितलनिवासमा भण्डारी र प्रचण्डबीच भेटघाट भएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहालका प्रेस सहयोगी विष्णु सापकोटाका अनुसार आज (आइतबार) बिहान सौहार्दपूर्ण वातावरणमा भेटघाट भएको छ । 

‘कुनै खास विषयमा केन्द्रीत भई छलफल भएको छैन, समसामयिक विषयमै केन्द्रीत भई समान्य छलफल मात्रै हो’ सापकोटाले भने, ‘राष्ट्रपति र प्रचण्डबीच लामो समयसम्म भेटघाट भएको थिएन्, यो भेटघाट सामान्य हो ।’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नियमित उपचारका लागि सिंगापुर जानु अघि पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिएर गएका छन् । नेकपा अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी जिम्मेवारी पाएपछि पार्टीका शीर्ष नेताका साथै उच्च तहका जिम्मेवार व्यक्तिसँग भेटघाटमा सक्रिय छन् । 

दुई दिन अघि नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका अध्यक्ष प्रचण्डले अब सचिवालयका अन्य नेतासँग समेत छलफल गर्दैछन् । 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा छन भने वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा रहेका छन् । 

सचिवालयका बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापासँग समेत अध्यक्ष प्रचण्डलले छलफल गर्दैछन् । महासचिव विष्णु पौडेल अध्यक्ष दाहालसँग नियमित सम्पर्कमै रहेका छन् । 

नेकपा शीर्ष नेताहरुसँगको छलफलमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागिसकेको कमिटीलाई सक्रिय बनाउने, देशैभरी जागरण अभियान सञ्चालन गर्ने, सचिवालयसहितका अन्य कमिटीको बैठक बोलाउने विषयमा छलफल भइरहेको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शीर्ष तहमै छलफल गरे अध्यक्ष कमरेडले पार्टीको सचिवालय बैठक बोलाउने तयारीमा छन् । छिटै नै सचिवालय बैठक बस्न सक्ने उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस्