ठग्स अफ हिन्दुस्तानले दियाे अामिरलार्इ तनाव



काठमाडाैं : थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै नै आशा गर्ने गर्दछन् । पछिल्लो समय प्रदर्शनमा आएका उनको सेक्रेट सुपरस्टारसम्मका फिल्मले दर्शक तथा समीक्षकबाट निकै तारिफ पायो ।

 

तर, हाल प्रदर्शनरत उनको महँगो फिल्म ठग्स अफ हिन्दुस्तानले न दर्शकबाट त न समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । त्यसकारण अचेल आमिर तनावग्रस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बलिउडका बिग बी अमिताभ बच्चनसँग आमिरले स्क्रिन सेयर गरेको यो फिल्मप्रति दर्शकले निकै आशा राखेका थिए । तर, फिल्मले दर्शकलाई निराश पारेको छ । पहिलो दिन निकै आक्रामक व्यापार गरेको फिल्मको माउथ पब्लिसिटी र रिभ्यु खराब आएकाले दोस्रो दिनदेखि व्यापारमा स्वाट्टै ह्रास आएको हो ।

 

विजयकृष्ण आचार्य निर्देशित ठग्स अफ हिन्दुस्तान फिल्म सोचेजस्तो राम्रो नभएको आभास आमिरलाई पहिले नै भएको समेत केही मिडियाले दाबी गरेका छन् । फिल्म राम्रो नभएकाले नै आमिरले खुलेर पब्लिसिटी नगरेको समेत अहिले चर्चा छ ।

 

यो फिल्मबाट आफूले गाली खाइरहेकाले आमिर अब केही समय पर्दामा नआउने योजनामा रहेको बताइन्छ । उनी अब केही वर्ष फिल्म नखेल्ने, तर निर्माणमा भने संलग्न हुने खबर बलिउडमा फैलिएको छ । आमिरले आफ्नो ड्रिम प्रोजेक्ट महाभारत सुरु गर्न लागेका छन् । 

प्रतिक्रिया दिनुहोस्