संजय र मनिषा एकसाथ काम गर्दै !



एजेन्सी : बलिउड नायक संजय दत्त र नायिका मनिषा कोइरालाले एकसाथ काम गर्ने भएका छन्। ९० को सुरुवाती दशकमा निकै रुचाइएको यो जोडी दशकपछि सँगै काम गर्न लागेका हुन्। उनीहरुले चलचित्र ‘प्रस्थानाम’मा सँगै काम गर्न लागेका हुन्।

देव कट्टाको निर्देशनमा बन्ने यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को रिमेक चलचित्र हो। चलचित्रमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ। उनीहरुले भने चलचित्रमा संजय दत्त र मनिषाको सन्तानको भूमिका निर्वाह गर्नेछन्।

चलचित्रको लेखक फराहद संजीले चलचित्रमा केही फेरवदल हुने बताएका छन्। उनले भनेका छन्–‘तेलुगु चलचित्रमा जस्तो थियो ठिक त्यही यस चलचित्रमा हुने छैन। कथा एउटै भएपनि स्क्रिप्टमा हामीले केही फेरवदल गरेका छौ।’

चलचित्रको मुख्य आकर्षण भनेको नै संजय र मनिषा बनेका छन्। उनीहरुले एक दशक पहिला चलचित्र ‘मेहबूबा’मा सँगै काम गरेका थिए। त्यसपछि उनीहरुले एकसाथ काम गर्ने अवसर पाएका थिएनन्। चलचित्रलाई लिएर संजय र मनिषा दुबै उत्साहित छन्।

प्रतिक्रिया दिनुहोस्