लमजुङमा १ वर्षमा ६८८ उद्योग थपिए



लमजुङ । लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन्। घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन्।

कार्यलयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावर सम्बन्धी छन्। कृषि तथा वन पैदावर उद्योग दर्ता मात्र १३ लाख ३ हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ।

सोबाहेक १४८ सेवामुलक, ४० वटा उत्पादनमुलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन्। सेवामुलक उद्योग दर्ताबाट १ लाख ७१ हजार ५००, उत्पादनमुलक उद्योग दर्ताबाट ५४ हजार ५०० र पर्यटन उद्योग दर्ताबाट ३३ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यलयका प्रमुख मिताकुमारी थापाले बताइन्।

यस्तै चारवटा निर्मामा उद्योग दर्ता भएका छन् । सोबाट १० हजार ६०० राजस्व संकलन भएको छ। विभिन्न प्रकृतिका उद्योगमध्ये यसवर्ष ऊर्जामुलक, खनिज जन्य र विज्ञान तथा सुचना प्रविधिसम्बन्धी कनै पनि उद्योग दर्ता भएका छैनन्।

गत आर्थिक वर्ष उद्योग दर्ताबाट मात्र १५ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ।

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन्। उक्त उद्योगहरूमा १ हजार ८४ महिला र १ हजार २९७ पुरुष गरी दुई हजार ३८१ जनाले रोजगार पाएको तथा रोजगारीमा आवद्ध भएको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ।

विगत ४ आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७–०७८ मा जिल्लामा ९७० उद्योग थपिएका थिए। आर्थिक वर्ष ०७४–०७५ मा २७६, ०७५–०७६ मा ४६८ र ०७६–०७७ मा ६६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्