चर्चित मन्त्रीको क्षेत्रमा कांग्रेस नेताहरूको धमाधम उम्मेदवारी घोषणा



काठमाडौं । पाँचथरको प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेसका नेताहरूले उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ।सरकारले घोषणा गरेको निर्वाचन हुने दिन आउन करिब १०० दिन बाँकी छँदा एकपछि अर्का नेताले विकासको एजेन्डालाई अघि सारेर उम्मेदवारी घोषणा गरिरहेका हुन्।

पछिल्लो पटक प्रदेशसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने नेतामा पर्छन्, सूर्यकुमार दाहाल। जिल्लाको तुम्बेवा गाउँपालिका वडा नम्बर–१ साविक आङ्ना-५ घर भएका दाहाल पार्टीमा आन्तरिक शक्ति सङ्घर्ष बढेको र नीतिसँगै निष्ठाको राजनीतिक पनि सङ्कटमा परेको भन्दै त्यसलाई बचाउन उम्मेदवारी दिने निर्णयमा पुगेको बताउँछन् ।

संसदीय प्रणालीलाई कम खराब व्यवस्थाको संज्ञा दिँदै आएका उनले यो प्रणालीलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्रसहितको अभ्यास आवश्यक हुने पनि औँल्याए। सोहीकारण प्रदेशसभा सदस्य पदका लागि कांग्रेसबाट उम्मेदवारी घोषणा गर्नुपरेको उनको दाबी छ।

यस्तै, भइरहेका विकासप्रति पनि उनको फरक मत छ। उनले विकासको नाममा भइरहेका भ्रष्टाचारजस्ता बेथिती हटाउँदै जानुपर्नेमा जोड दिँदै भनेका छन्, ‘हामी कस्तो विकास चाहन्छौँ ? सार्वजनिक शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा, कृषि, न्यायिक, प्रशासनिक र सुशासनको स्थिति हेरेर भन्न सक्छौँ ।’

आगामी निर्वाचनमा विचार, संस्कार र विकासको योजना बोकेका उम्मेदवारलाई पार्टीले टिकट दिने र निर्वाचनमा जनताले जिताउने नेता दाहालको विश्वास छ । उनी पार्टीमा देउवापक्षीय नेताको रूपमा चिनिन्छन् ।

उनीभन्दा अघि पार्टीको प्रदेश निर्वाचन क्षेत्र (ख) कि सभापति मैयाँ श्रेष्ठ लावतीले उम्मेदवारी घोषणा गरिसकेकी छिन् । लावती र दाहालले उम्मेदवारी घोषणा गरेको क्षेत्र भने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’को हो ।

उनी हाल पाँचथरको विकासमा पूर्वमन्त्री पदमसुन्दर लावतीपछिको विकासे नेताको रूपमा चिनिन्छन् । देश सङ्घीय प्रणालीमा गएपछि भएको पहिलो प्रदेश संसदको निर्वाचनमा मौसमले कांग्रेसका उम्मेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका थिए।

मौसम त्यतिबेला एमाले–माओवादी मिलेर बनेको बाम गठबन्धनका संयुक्त उम्मेदवार थिए। हाल मौसम आबद्ध पार्टी माओवादी, कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेको पाँच दलीय गठबन्धन छ।

गठबन्धन दलहरूबीच तालमेल गर्ने निर्णय पनि भइसकेको छ। तर, सङ्घ र प्रदेशमा सिट बाँडफाँट टुङ्गो लागेको छैन।तालमेलको क्रममा भागबन्डा हुँदा पाँचथरको प्रदेश निर्वाचन क्षेत्र (ख) कांग्रेसलाई पर्छ कि पर्दैन ? निश्चित भइसकेको छैन।

निश्चित हुँदा पनि सोही क्षेत्र घर भएका धर्मन्द्रविक्रम नेम्बाङ (संविधानभामा समानुपातिक उम्मेदवार-२०७०) पार्टी उपसभापतिहरू बृजहाङ आङ्देम्बे, डिकेन्द्र चेम्जोङ, सचिव डेकेन्द्रकुमार तामाङ, पार्टीका पूर्वसचिव सुरेन्द्रकुमार दाहाल, नेताहरू मणि चेम्जोङ, बम लावतीलगायत सिनियर नेताहरू छन्। जसले गर्दा कांग्रेसलाई नै प्रदेशतर्फको सिट परे पनि उम्मेदवारी घोषणा गर्नेमध्येका लावती र दाहाललाई टिकट पाउन भने सहज छैन।

यस क्षेत्रको संसदीय निर्वाचनमा जितको इतिहास हेर्ने हो भने कांग्रेसले दुई पटक मात्र निर्वाचन जितेको छ। दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे निर्वाचित भएका थिए।

त्यसअघि वि.स.२०१५ सालमा कांग्रेसका गणेशप्रसाद रिजालले निर्वाचन जितेको देखिन्छ । उनी पाँचथरको पहिलो जनप्रतिनिधि हुन् । पञ्चायती व्यवस्था हुञ्जेल भने पद्मसुन्दर लावतीले निर्वाचन जितिरहे।

बहुदल आएपछि पनि एक पटक निर्वाचन जितेका लावतीले त्यसपछि भने जितेनन्। एमालेका डम्बरसिंह सम्बाहाम्फेले तीन पटक निर्वाचन जिते। सम्बाहाम्फेले निर्वाचन जित्दा पराजित हुनेमा लावती र आङ्देम्बे परे।

प्रतिक्रिया दिनुहोस्