अर्थमन्त्रीको आश्वासन : बजेट भाषण अनुसार नै तलब वृद्धि हुन्छ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिएका छन् ।

बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्‍दै आन्दोलित कर्मचारीहरुका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएपछि अर्थमन्त्रीले यस्तो आश्वासन दिएका हुन् ।

उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिएका छन् ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए ।

पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो । तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको छ ।

असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले आज सिंहदरबारभित्र पेन डाउन गरेका थिए । उनीहरुले मंगलबार विदा बस्ने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्