‘सङ्गठन बनाउन निरन्तर लागिपर्छु’



काठमाडौं । माओवादीको हिंसात्मक विद्रोह नियन्त्रण गर्न गठन भएको सशस्त्र प्रहरी अर्धसैन्य फौज हो। अर्धसैन्य फौजको नेतृत्व गर्न सक्षम मानिएका व्यावसायिक प्रहरी अधिकृतको पहिचान बनाएका राजु अर्याल सशस्त्र प्रहरी प्रमुख छन्।

गत १८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक (आईजी) मा नियुक्त गरेको थियो। अर्याल आईजीमा नियुक्त भएको ९५ दिन पुगेको छ। आईजीको दज्र्यानी चिह्न लगाएसँगै अर्यालले सङ्गठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा/बढुवा गर्ने प्रतिबद्धता जनाएका थिए।

अर्यालले सरुवा बढुवामा अन्याय नगर्ने र मातहतका कर्मचारीहरूको वृत्ति विकासमा ध्यान दिने बताएका थिए। उनले सशस्त्र प्रहरी जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान् बनाउन आफू सङ्गठन प्रमुखको हैसियतले निरन्तर लागिपर्ने समेत बताएका थिए। सङ्गठन बलियो बनाउन कुनै तत्वसँग साँठगाँठ नगर्ने अर्यालको भनाइ थियो ।

‘सशस्त्र प्रहरी कर्मचारीको मनोबललाई बढाएर सङ्गठनलाई नमुना सङ्गठन बनाउनेछु’, अर्यालले भनेका थिए, ‘सशस्त्रलाई साधन स्रोतयुक्त बनाउन सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नतिमा जोड गर्नुपर्ने देखिन्छ।’

सोही क्रममा आफ्नो कार्यकालमा सरुवा/बढुवा निष्पक्ष ढङ्गबाट हुने आईजी अर्यालले दाबी गरेका थिए। सङ्गठनभित्र इमान्दार भएर काम गर्ने अधिकृतहरूको पक्षमा आफू सधैँ उभिने आईजी अर्यालको दाबी थियो। त्यसो भए आईजी अर्याल आफ्नो अडानमा अडिग छन् त ? आईजी अर्यालको कार्यकालमा करिब ४०० जना सशस्त्र अधिकृतहरूको बढुवा भएको छ भने ८२१ जनाको सरुवा भएको छ।

लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको बढुवा पारदर्शी रुपले भएको अर्यालको दाबी छ। आफ्नो कार्यकालमा भएको सरुवा/बढुवा विभिन्न सञ्चारमाध्यमबाट प्रसारित समाचारहरूमा नकारात्मक टिप्पणी गर्न आवश्यक नभएको अर्यालको बुझाइ छ। उनले थपे, ‘यसअघि र अहिलेको सरुवा/बढुवा हेर्नुस् न, कसरी भएको छ ?’

आईजी अर्यालको कार्यकालमा एआईजीमा २ जना, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा २८ जना, उपरीक्षक (एसपी) मा ५१ जना, डीएसपीमा ६२ जना र इन्स्पेक्टरमा १०३ जना बढुवा भएका छन्। त्यस्तै १३३ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) भएका छन् ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काका अनुसार अर्यालको कार्यकालमा भएको सरुवा/बढुवा अहिलेसम्मकै सर्वोत्कृट हो।

‘सङ्गठनभित्र सरुवा/बढुवा स्वाभाविक प्रक्रिया नै हो तर पनि वर्तमान चिफसा’पको छोटो कार्यकालमा पनि धेरै सशस्त्र प्रहरी कर्मचारीको सरुवा/बढुवा भएको छ’, उनले भने, ‘सरुवा/बढुवा नपाएर निराश प्रहरी कर्मचारी पनि खुसी देखिएका छन्, उनीहरूको मनोबल बढेको छ।’

सरुवा/बढुवामा हुने अनावश्यक चलखेल हालका चिफको कार्यकालमा बन्द नै भएको प्रवक्ता खड्काको दाबी छ । ‘एआईजी, डीआईजी, एसएसपी, एसपी, डिएसपीको बढुवा हेरे पुग्छ,’ उनले थपे । त्यस्तै २ जनाको विशेष बढुवा भएको खड्काले बताए। ‘अवकाश पाउनुभन्दा केही समयअघि एसपीसम्मलाई बढुवा गरिन्छ।

त्यसलाई विशेष बढुवा भनिन्छ, त्यस्तो अवस्थामा २ जना बढुवा भएका छन्,’ उनले भने । ‘समग्रमा हालका आईजी सा’पको कार्यकालमा १६४५ जनाको सरुवा तथा बढुवा भएको छ,’ उनले थपे, ‘४६७ जनाको पदस्थापना भएको छ।’

उनीहरूको वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन र इमानका आधारमा बढुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ। राजनीतिक दबाब थेगेर नै आईजी अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा/बढुवा निकालेको मुख्यालको दाबी छ।

डिएसपी बढुवा प्रक्रिया यसकारण अघि बढ्यो

आईजी अर्यालको गृह नेतृत्वसँग सम्बन्ध सुमधुर भएसँगै बढुवा प्रक्रिया सहज रुपमा अघि बढेको बताइएको छ। गृह र सशस्त्र नेतृत्वको सम्बन्ध सुमधुर नभएकै कारण यसअघि बढुवा लामो समय रोकिएको थियो।

सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको बढुवा आईजी अर्यालको कार्यकालमा भएको छ ।

एउटै पद (इन्स्पेक्टर) मा लामो समय रहेर नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुन सकेका थिएनन् । अर्याल आईजी नियुक्त भएको २ महिनापछि ५६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा भएका छन् ।

सिसं ७ अन्तर्गत १२२ जना इन्सपेक्टर रहेकामा अहिले ५६ जना मात्र डिएसपीमा बढुवा भएका हुन् । उनीहरूले डिएसपी बढुवा सिफारिस भएर पनि दज्र्यानी चिह्न लगाइसकेका छन्। असार २०६४ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उनीहरू पनि १५ वर्षसम्म पनि इन्सपेक्टरमै कार्यरत थिए।

छुटेकालाई पद थपेर बढुवा गर्नुपर्ने पक्षमा अर्याल

यस्तै सिसं ७ का १२२ जनामध्ये ५६ जना मात्र बढुवामा परेपछि छुटेका ६६ जनालाई पनि तत्काल डिएसपी बनाउनुपर्ने पक्षमा छन् आईजी अर्याल। बाँकी छुटेकालाई पद थप गरेर भए पनि बढुवा गर्नुपर्ने अवस्था रहेको आईजी अर्यालले बताए।

द नेपालटपसँगको कुराकानीमा आईजी अर्यालले भने, ‘सिसं ७ का छुटेकालाई तत्काल पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाउने पक्षमा छु। गृहमन्त्रीज्यूसँग पनि मेरो कुराकानी भइरहेको छ। यसमा उहाँ सकारात्मक नै हुनुहुन्छ।’

सिसं ६ को बढुवा अर्यालअघि आईजी रहेका पुष्पराम केसीको कार्यकालमा भएको छ। १९ दिनको आईजी बनेका पुष्पराम केसीले १६ वर्षदेखि इन्स्पेक्टरमै कार्यरत रहेका ८७ जनालाई २ लटमा गरी डिएसपीमा बढुवा गरेर राहत दिए।

अर्यालका भावी योजना

नवीनतम सुरक्षा चुनौतीको पूर्वानुमान गरी प्रभावकारी सुरक्षा योजना लागू गर्ने, सशस्त्र प्रहरी बल, नेपाललाई आधुनिक, स्रोतसाधन सम्पन्न, प्रविधियुक्त अर्धसैनिक बलका रूपमा विकास गर्दै लैजाने योजना अर्यालको छ।

भ्रष्टाचार, मानवअधिकार उल्लङ्घन तथा लैङ्गिक हिंसामा शून्य सहनशीलताको नीतिलाई अक्षरशः पालना गर्दै लैजाने तथा विशिष्टीकृत तालिम शिक्षालयहरूको दरबन्दी थप गरी स्थायी शिक्षालयका रूपमा रूपान्तरण गर्ने योजना पनि रहेको अर्यालले बताए ।

यसैगरी सशस्त्र प्रहरी बलका सकल दर्जाका राष्ट्रसेवकले आफ्ना अनुभवबाट सँगालेका सुझाव, सल्लाहअनुसारका विषयमा सुधार गर्दै लैजाने दीर्घकालीन सोचसहितको नीति तथा योजनालाई महत्व दिइएको अर्यालको दाबी छ।

यसका साथै सवारीसाधनको व्यवस्थापन गर्दै भौतिक संरचनाको निर्माणमा उल्लेख्य सफलता हासिल गर्ने र विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी प्रविधिमैत्री सङ्गठन निर्माणमा जोड दिने काम भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्