अनि ‘कृष्ण’ बने पुष्प



काठमाडौं । फिल्म ‘दर्पण छाया–२’ बाट अभिनेताका रूपमा उदाएका पृष्प खड्कालाई यो फिल्म विशेष छ । फिल्म भलै बक्स अफिसमा असफल भए पनि यो फिल्मको सुटिङ हेर्न आइरहने १ व्यक्तिको गतिविधिले उनलाई अभिनयको नयाँ अवतार देखाउन सजिलो बनाइदिएको छ ।

आगामी भदौ ३ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’मा पुष्प अटिज्म पीडित ‘कृष्ण’ पात्रको भूमिकामा छन् । जो सुस्त छन्, ढिलो बोल्छन् । अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेममा परेका कृष्ण प्रेमभाव पनि सुस्त तरिकाले व्यक्त गर्छन् ।

‘फिल्म दर्पण छाया–२ को सुटिङको समयमा अटिज्म भएका १ व्यक्ति नियमित आउँथे । उनले बोल्ने व्यवहार, बोल्दा थुक फ्याल्ने बानी, बच्चा टाइपको नेचर थियो। उनलाई जसले पनि हेप्थे।

उनी एउटै मान्छेले १० जनालाई होल्डमा राख्न सक्थे’, हालैको भेटमा पुष्प भन्दै थिए, ‘कृष्णलीलामा जोडिएपछि कहाँबाट मैले त्यो व्यक्ति सम्झिएँ। अनि मैले निर्देशक दीपक वलीलाई ‘यस्तो क्यारेक्टरमा गर्दा कस्तो होला ?’ भनेर सोध्दा उहाँबाट सकारात्मक प्रतिक्रिया पाएपछि म त्यो क्यारेक्टरमा गएँ।’

पुष्पका अनुसार उनले अटिज्म चरित्रलाई ३ वर्षदेखि ‘होल्ड’मा राखेका थिए ।

१५ दिनको प्रशिक्षण
अटिज्म पीडितको भूमिकामा देखिनकै लागि पुष्पले रङ्गकर्मी तथा अभिनेता आशान्त शर्मासँग १५ दिनको प्रशिक्षण लिए। ‘कहिले मेरै कोठामा त कहिले बाहिर आशान्त दाइसँग वर्कसप गरेँ । उहाँसँग पात्रले बोल्ने संवाद शैलीदेखि अन्य विषयमा ज्ञान लिएँ’, पुष्प भन्छन्, ‘आशान्त दाइले १५/१६ वर्षको उमेरमा ‘तिमीले के–के गरेको थियौ ? त्यो बेलाको कामलाई लेखेर ल्याऊ’ भनेपछि मैले आफूले सम्झिएसम्मका कुरा लेखेँ । म गाउँमा पानी–माटोमा हुुर्किएको मान्छे हुँ । त्यो समयमा नदीमा पौडिएका, गाउँघरमा चोरेका कुरा लेखेँ । किनकि गाउँमा स्वतन्त्रता बढी हुन्थ्यो ।’

सुटिङमा जिस्क्याउँथे
सम्पूर्ण छायाङ्कन इलाममा गरिएकाले पुष्प ४२ दिन नै इलाममा बसे । ‘त्यहाँको सुटिङकै वातावरणमा बसियो । मलाई मेरो चरित्रमा असर नपरोस् भन्ने ध्याउन्न थियो । त्यहीकारण दीपक दाइ, श्रद्धाले जिस्क्याउँथे । बुद्धि तामाङ दाइले त क्यारिकेचर नै गर्नुहुन्थ्यो’, पुष्प हाँस्छन् ।

चरित्रको ह्याङओभर
पुष्पको अनुभवमा काठमाडौंमा ‘कृष्णलीला’को सुटिङ भएको भए बाहिरी मान्छेसँगको भेटघाटले ‘कृष्ण’ चरित्रको ह्याङओभर मेटाइसक्थे । तर उनले भनेजस्तो भएन । यो फिल्मको सुटिङ सकिएको १ सातापछि उनी ‘तिम्रो मेरो साथ’मा व्यस्त भए। ‘तिम्रो मेरो साथमा मैले खासै वर्कआउट गर्न पाइनँ । ‘कृष्णलीला’ र ‘तिम्रो मेरो साथ’का छायाकार शिव ढकाल दाइ नै हुनुहुन्थ्यो। ‘तिम्रो मेरो साथ’ को १ दृश्यको सुटिङ गरेपछि शिव दाइले मेरो कानमा ‘तिम्रो शैली कृष्णलीलाको जस्तो देखिइरहेको छ है’ भनेपछि मैले अभिनयको शैलीलाई परिवर्तन गरें’, पुष्प सम्झन्छन्, ‘पछि दीपक दाइले फिल्मको फुटेज हेर्नुभएछ । अनि फोन गरेर ‘तपाईंलाई कृष्णको ह्याङ अझै उत्रेको छैन कि क्या हो ?’ भनेर सोध्नुभयो ।’

३ पात्रबाट सिकाइ

पुष्पले ‘कृष्ण’को चरित्र निभाउनकै लागि ‘दर्पण छाया–२’को सेटमा भेटिने अटिज्म पीडित ती व्यक्तिसँगै घरकी ४ वर्षकी भान्जी र उनको गाउँका साइलो बुबाबाट धेरै कुरा सिके । घरमा रहँदा उनले अधिकांश समय ४ वर्षकी भान्जीसँग बिताए । ‘यो मेरो होमवर्क हो है भनेर काम गरेँ । भान्जीबाट कसरी हाँस्ने, कसरी बोल्ने, कसरी हातखुट्टा चलाउने विषयमा नजिकबाट अध्ययन गरेँ’, पुष्प भन्छन्, ‘दर्पण छाया–२ मा भेटिएका ती पात्र र मेरो गाउँको साइँलो बुबाबाट सिकेँ । साइलो बुबाको शैली ‘ट्युबलाइट’ शैलीको थियो । जसले गर्दा सिक्न सजिलो भयो ।’

‘मङ्गलम्’भन्दा बढी मेहनत
पुष्पले फिल्म ‘मङ्गलम्’ मा शारीरिक रूपमा अशक्त ‘दीपक’मा अभिनय गरेका थिए । ह्विलचेयरमा बसिरहने दीपक बोल्न सक्दैनथे । यो फिल्मबाट उनले ‘राष्ट्रिय पुरस्कार’ समेत जितिसकेका छन् । पुष्प ‘मङ्गलम्’मा भन्दा ‘कृष्णलीला’मा बढी मेहनत गर्नुपरेको सुनाउँछन् । ‘मङ्गलम्को पात्र र कृष्णलीलाको पात्रको नेचर नै फरक थियो । मैले मङ्गलम्भन्दा बढी तयारी कृष्णलीलाका लागि गरेँ’, पुष्प भन्छन्, ‘किनकि दीपकको उमेरको मान्छेले सोच्नेदेखि गर्ने व्यवहारहरूसँगै जीवनको फेज नै फरक थियो । कृष्ण चरित्रमा आफू अटिज्म पीडित भए पनि बुझ्न र बोल्न सक्ने थिएँ । तर पनि धेरै मेहनत गर्नुपर्‍यो ।’

जीवन बुझ्ने अवसर

पुष्पले ‘कृष्ण’को चरित्र निभाइरहँदा जीवनलाई नजिकबाट बुझ्ने मौका पाएका छन् । ‘फिल्ममा उमेर बढी भए पनि सोच्न सक्ने क्षमता ममा कम छ । यस्तो चरित्रमा अभिनय गर्दा वास्तविक रूपमा अटिज्म पीडित व्यक्तिहरूको जीवनलाई नजिकबाट बुझ्ने अवसर पाएको छु । मैले काल्पनिक रूपमा अभिनय गर्दा यति गाह्रो महसुस भयो भने वास्तविक जीवनमै त्यो अनुभव भोगेकाले झन् कस्तो पीडा भोगेका होलान् ?’ पुष्पको प्रश्न छ ।

पुष्पबाहेक विकल्प थिएन : वली

फिल्मका निर्देशक वली ‘कृष्ण’को चरित्रलाई न्याय दिने व्यक्ति पुष्प नै रहेको दाबी गर्छन् । ‘मैले फिल्मका लागि पुष्पबाहेक अरू विकल्प खोजेको थिइनँ । पुष्प नभएको भए यो फिल्म नै बन्दैनथ्यो’, वली भन्छन्, ‘मङ्गलम् हेरेपछि ‘कृष्णलीला’को अटिज्म क्यारेक्टर पुष्पले नै गर्न सक्नेमा विश्वस्त थिएँ । किनकि, ‘मङ्गलम्’ र ‘कृष्णलीला’को क्यारेक्टरको सोच्ने तरिका फरक भए पनि चरित्र निर्माण र अभिनयमा गर्नुपर्ने मेहनत फरक थिएन’, वली भन्छन् ।

फिल्ममा पुष्पसँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, भावना गुरुङ, हिउँवाला गौतम, आयुष गुरागाईं, आयुषा क्षेत्री, पीताम्बर आचार्यलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्