संस्कृतिमा सम्पन्न नेवारका बाजा सङ्कटमा



पदम श्रेष्ठ । नेवारी परम्परामा चैत-वैशाख महिनाको वसन्त ऋतुमा होली पूर्णिमादेखि बुद्ध जयन्तीसम्म धातु राग, जेठ-असार महिनामा पर्ने गृष्म ऋतुको सिठीनखदेखि गठामुगल चह्रेसम्म सिनाज्या, साउन-भदौ महिनाको वर्षा ऋतुमा पर्ने गठामुगलदेखि यलापुन्ही (इन्द्रजात्रा)सम्म तुकाज्या घाँस उखेल्ने, असोज-कात्तिकको शरद ऋतुमा नागपञ्चमीदेखि कागतिहारसम्म सिलुम्ये गोसाइँकुण्डको मेलामा गाइन्छ ।

मङ्सिर–पुस महिनामा पर्ने हेमन्त ऋतुको येंयाँ (इन्द्रजात्रादेखि कागे अष्टमीसम्म) मालश्री धून बजाइने परम्परा छ । माघ-फागुन महिनामा पर्ने शिशिर ऋतुको मिलापुन्हीदेखि होली पुन्हीसम्म होलीभ्ये गाउने र बजाउने प्रचलन छ । यसरी ऋतुअनुसार महिना-महिना छुट्याएर बजाइने सङ्गीतमध्ये दसैँअघि बजाइने मालश्री धून, धान रोप्दा गाइने सिन्हाज्या र फागु पूर्णिमामा बजाइने होलिम्येबाहेक अन्य गीत-सङ्गीत लोपोन्मुख अवस्थामा छन् ।

उपत्यकाको सङ्गीतलाई जीवन्तता दिने अभियानमा नेपाल संवत्को नवौँ महिनाभर स्वयम्भू महाचैत्यमा मेला लाग्दा बजाइने गुलाँ बाजाको पनि ठूलो महिमा छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदाको यलाँसम्म १ महिना दिनहुँ बिहान-बिहान गुलाँ बाजा बजाएर उपत्यकाका बुद्धविहार, मठ-मन्दिर परिक्रमा गर्दै स्वयम्भू महाचैत्यको परिक्रमा गर्ने परम्परा छ, जुन वाद्यवादन दिनहुँ भइरहेको छ ।

उपत्यकाको नेपाल (नेवारी) संस्कृति र सङ्गीतलाई बचाउने कार्यमा उपत्यकामा प्रचलित नरदेवीको न्यतमदु गणनृत्य, खोकनाको सिकाली प्याखँँ, हरिसिद्धिको जलना, पचलीको पचली भैरव प्याखँँ, ठेचोको इन्द्रायणी नवदुर्गा नृत्य, भक्तपुरको नवदुर्गा गणनृत्य महाकाली नाच, पाटनको कार्तिक नाचमा बजाइने बाजाले ठूलो भूमिका खेलिरहेको पाइन्छ ।

अनादिकालदेखि नै उपत्यकावासी सङ्गीत र संस्कृतिका अनन्य भक्त रहँदै आएका पाइन्छ । उनीहरूले न्हुँद नयाँ वर्ष नेपाल संवत्को विशाल र्‍यालीमा होस् वा फर्पिङको हरिशङ्कर जात्रा आदि जुनसुकै टोलटोलमा हुने जात्रा-पर्वमार्फत पनि आफ्नो मौलिक सङ्गीतलाई बचाइरहेका पाइन्छ । यस्ता जात्रामा उपत्यकावासी आफ्नो मौलिक बाजा धिमेय, धा, पोङ्गा, हुस्या, भुस्या, नायखिँ, कोचाखिँ, न्यकु बाजा बजाउँछन् ।

उनीहरूले खिँ, बङ्गाली खिँ, मगः खिँ, खौं, बाँसुरी बाजा, ढोलक पनि बजाएर आफ्नो सङ्गीतलाई अगाडि बढाइरहेका पाइन्छन् । हुनत सङ्गीत प्रकृतिको सुसेलीसँगै प्रारम्भ भई अनेक आवाजको तालसँगै मान्छे नाच्न रमाउन थाल्छन् । उपत्यकामा सर्वप्रचलित बाजा धिमेय (जुन ज्यापू बाजाका रूपमा पनि लिइन्छ)लाई मानिन्छ ।

खेती किसानी गर्नुअघि जङ्गली अवस्थामा जीवजन्तु धपाउन र दुःख-सुखमा रमाउने धिमेय बाजाको प्रादुर्भाव भएको बताइन्छ । धार्मिक दृष्टिकोणबाट हेर्नेले सङ्गीत महादेवको ५ मुखबाट अ, ई, उण, ऋ, लुक ५ राग र पार्वतीको मुखबाट १ राग जरी जम्मा ६ राग निस्किएको विश्वास गरिन्छ । यही विश्वासका आधारमा ताण्डव नृत्य गरिरहेका नृत्य नाथलाई उपत्यकावासी नेवार नासःद्यो भनी कुनै पनि सङ्गीत सिक्नुअघि राँगा बलि दिई पूजा गर्ने परम्परा रहँदै आइरहेको छ ।

तर, बौद्ध धर्मावलम्बी महायानी परम्पराअनुसार तन्त्रयान स्वरूपमा षोडस लास्या १६ जना पूजादेवी समावेश चर्या नृत्यको प्रादुर्भाव गराएको बताइन्छ । मञ्जुश्री, कुमारी, बज्रयोगिनी आदि देवी-देवताका जीवन पद्धति गाथासहित मनाइने चर्या नृत्य वीणा, वंशी, मृदङ्ग, ताःमुस्या आदि बाजाको तालमा सञ्चालन हुने गर्छ । परम्परागत बाजागाजालाई जीवन्त बनाइरहन जीवनभर साधनारत वाद्यगुरु लामा, वोन्पो, वादी, दमाईं, गाइने आदि समुदायको योगदानलाई सरकारी तवरबाट खासै कदर हुन सकेको छैन ।

मौलिक वाद्यवादनका गुरुहरूको सम्मानको त कुरै छोडौं, सङ्गीठत परम्परागत वाद्यवादक समूहलाई समेत टिकाउनेबारे सम्बन्धित निकायबाट बेवास्ता हुँदा कतिपय वाद्यवादन लोप हुन पुगेका पाइन्छ । काठमाडौं उपत्यकामा मात्र मूर्त सम्पदा पशुपति, स्वयम्भू, काठमाडौं, ललितपुर, भक्तपुर दरबार, चाँगु, बौद्ध गरी ७ वटा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेका छन् भने वाद्यवादन जात्रा-संस्कृतिलाई पनि अमूर्त सम्पदाका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेतर्फ पहल थाल्नुपर्छ ।

परम्परागत वाद्यवादनको कुरा गर्दा नेपालमा सबैभन्दा बढी १३० भन्दा धेरै किसिमका बाजा नेवार समुदायका छन् भने किराँत समुदाय (राई, लिम्बू, याख्खा, सुनुवार)का २८, दलित (दमाईं)का २७, थारू आदिवासीका २२, तामाङका १८, सन्त योगीका १७, खस ब्राह्मणका १५, शेर्पाका १४ र मगरका १३ प्रकारका वाद्यवादन रहेका पाइन्छ । त्यसैगरी ६ देखि ८ प्रकारका वाद्यवादन प्रचलनमा रहेका जातीय समुदायहरूमा गुरुङ, थामी, झागड, ह्योल्मो, सफेरा, यादव, धिमाल छन् भने बालबालिकाका बाजा १० प्रकारका छन् ।

सबैभन्दा कम वाद्यवादन परम्परा रहेका समुदायमा डोम, कोचे, मेचे, वादी, दुरा, छन्त्याल, डोल्पा (हुम्ली), सतार, मन्ग्याल, सौका, किङ्गरी, सुरेल, जुरेल, चेपाङ, कुसुण्डा, मुसहर, किसान छन् ।

गुँला पर्व (पञ्चदान)

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा (पारु)सम्म १ महिना स्वयम्भू महाचैत्यलाई मूल मानी देशभरका बौद्धस्थलमा प्रेम-करुणा, व्यायाम, सङ्गीत, मनोरञ्जन, अनुगमन भ्रमण र पुनर्निर्माणलगायत ९ वटा उद्देश्य प्राप्तिका लागि गुँला पर्व मनाइन्छ ।

नेपाल संवत्को नवौँ महिना गुँला पर्व आदिबुद्ध दीपङ्करको स्मरणमा दान महिमालाई उँचो राख्दै मनाइन्छ । यो पर्व राजा वृषदेवभन्दा ४ पुस्ताअघिका राजा पुष्पदेवको राज्यकाल (१९०० वर्षअघि) देखि मनाउन थालिएको कथन छ । गुँला पर्व अवधिभर उपत्यकाका विहार-महाविहार सार्वजनिक गरी नवव्याकरण (प्रज्ञापारमिता, गण्डव्यूह, दशभूमिश्वर-समाधिराज, लङ्कावतार, सद्धर्मपुण्डरिक, सुवर्ण प्रभास, ललितविस्तर तथा गुह्यतन्त्र) पाठ गर्दै विहार परिक्रमाका साथ दान दिइन्छ ।

यसरी प्राप्त दान (खाने, पिउने, लगाउने र नगद)लाई शाक्य, बज्राचार्य, फुवरे (ज्यापू)ले विहार निर्माणमा लगानी गरिन्छ । काठमाडौं र कीर्तिपुरमा प्रत्येक वर्ष श्रावण शुक्ल त्रयोदशीका दिन पञ्चादान हुने गर्छ । काठमाडौंको ठमेलबाट सुरु हुने पञ्चदान क्वाःवहाः, झ्वाःवहाः, तँलाछी, धोका वहाः, गँवहाः, नघवहा, न्हूवहाः बाङ्गेमुढा, असन, दगुवहा, तछेंवहाः, जनवहाः, इटुम्वहा, मूवहा, चिधँवहः, इन्द्रचोक, मखवही, लायकुवही, मरु पिगँननी, चिंकमू हुँदै मञ्जुश्री परिक्रमा गरिन्छ भने मञ्जुश्री इकुवहाः, लगन, तःवहाः, यङ्गावही, ओमवहाः न्हुसा, पुलाभन्सा हुँदै नच्छेगल्ली पुग्छ ।

बिहानै सुरु हुने पञ्चदान टेबहाल, दुगँवही, सवलबहाः, महाबौद्ध हुँदै साँझ जमल बिहारमा पुगी सम्यक् भोजमा परिणत हुने गर्छ । पञ्चदानबाट प्राप्त दान जीविकोपार्जनका लागि हो तर यसबाट सङ्कलित रकमलाई सामाजिक कार्यका लागि पनि खर्च गरिन्छ । नेपाल संवत्को नवौँ महिना गुँलामा बौद्धशास्त्रको नवव्याकरण पढिन्छ भने नौ बाजा (धाः, धिमे, नगरा, नायखिं, दमर्खी, दवहव, मृदङ्ग धोधोचार क्वचाखि) बजाउँदै बिहार परिक्रमा गरिने नेपाली लोकसङ्ग्रहालयका संस्थापक अध्यक्ष रामप्रसाद कँडेलले आफ्नो पुस्तक ‘लोकबाजा सङ्ग्रह’मा उल्लेख गरेका छन् ।

लोपोन्मुख अतिसीमान्तकृत समुदायका प्राकृतिक बाजासमेत जोड्दा झन्डै ३०० प्रकारका वाद्यवादनले सजिएको नेपालको पहिचान संरक्षणमा क्रियाशील वाद्य गुरु, कला-कलाकार र संस्कृतिविद्हरूका लागि सम्मान र सोही पेसा गरी जीवन धान्न सक्ने वातावरण राज्यले तयार गरिदिनुपर्ने माग यस विधामा लागेकाहरूको छ । तर, देवस्व, धर्मस्व, गुठी-जात्रा, सङ्गीत र संस्कृति संरक्षणका लागि ने.सं. १०८७ (२०२४) मा गठित गुठी संस्थान जात्रा, कला, सङ्गीत, संस्कृतिको संरक्षणभन्दा नेवार-तामाङको गुठी सम्पदा बेचेर आएको सम्पत्ति तलब खाएर बस्नेमा क्रियाशील रहेको छ । गुठी संस्थानलाई सम्बन्धित गुठियारकै नेतृत्वमा ट्रष्टका रूपमा स्थापित गरी हिसाबकिताब, सम्पत्ति पारदर्शी बनाउँदै लैजानुपर्ने समुदायको माग छ ।

नेपाल भाषाका कविकेशरी चित्तधर हृदयले त स्पष्ट शब्दमा लेख्नुभएको छ, ‘१०४ वर्षे जहानियाँ राणाशासकको विभेद नीतिका कारण सम्बद्ध भाषा-संस्कृति र सङ्गीतले देशभित्रै कुजिनुको विकल्प रहेन । तर, धार्मिक विश्वास, लोकलयमा आधारित नेपाली पहिचानका कारण लोकसङ्गीतलाई जीवित राखिरहन सहज हुन गएको हो

उपत्यकाको साङ्गीतिक संस्कृति

नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका सङ्गीतमय संस्कृति सम्पन्न नगरका रूपमा प्रख्यात छ । यहाँ जसरी हप्तैपिच्छे कुनै न कुनै पर्व, जात्रा पर्ने गर्छन्, त्यस सँगसँगै अनेक बोल, ताल-तरेलीका गीत-सङ्गीत हुन्छन् । हुनत सङ्गीत प्रकृतिको सुसेलीसँगै सुरू भई मानिसको हरेक विधि-व्यवहार, सुख–दुःख र का-कारबाहीमा सम्बन्धित भई समाजका अभिन्न अङ्ग बनेको छ ।

स्थानीय र मौलिक सङ्गीतको प्रवाहमा उपत्यकाको संस्कृति विशिष्ट पाइन्छ । काठमाडौं उपत्यका मूल रूपमा नेवार आदिवासीको आदिभूमि हो । सयौँ वर्षदेखि थिचिएर रहेको नेपाल भाषा शिल्पकलासँगै नेपाल सङ्गीत पनि मृतप्रायः हुँदै जान थालेको छ । तर, धार्मिक विश्वासले गर्दा विकट परिस्थितिबीच पनि परम्परागत नेपाल (नेवार) सङ्गीत बाँचिरहेको छ । सङ्गीतलाई संस्कृति सँगसँगै लैजान पुर्खाले समय र ऋतुको आधारमा वर्गीकृत छन् ।

यहाँ प्रत्येक ऋतु-महिना मात्र होइन, घन्टाघन्टामा गाइने/बजाइने अनेक गीत-सङ्गीत छन् । बिहान सबेरै ४ बजेदेखि ५ बजेसम्म १ घन्टा बिहाँचुली, ५ देखि ७ बजेसम्म भक्ति सङ्गीत र बिहान ७ बजेदेखि ९ बजेसम्म जयश्री धून बजाइन्छ ।

त्यसैगरी बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म मालुवा, मध्याह्न १२ बजदेखि १ बजेसम्म विमास, दिउँसो १ बजेदेखि २ बजेसम्म आशावनी, २ देखि ३ सम्म पदमजली, ३ देखि ४ सम्म देशा, ४ देखि ५ बजेसम्म कौशी धून बजाइने प्राचीन परम्परा छ । साँझ ६ देखि ७ बजेसम्म केदार, राति ७ देखि १० बजेसम्म ३ घन्टा विजय, राति १० देखि ११ बजेसम्म विभास र ११ देखि मध्यरात १२ बजेसम्म नाय धून बजाइन्छ ।

मध्यरात १२ बजेदेखि १ बजेसम्म कौला, १ देखि २ बजेसम्म नमानी र २ बजेदेखि बिहान ३ बजेसम्म मालवा धून बजाइन्छ ।समय तालिकाअनुसार वर्तमानमा रेडियो, टेलिभिजनमार्फत धून प्रसारण हुन सके सङ्गीत-संस्कृतिको एकसाथ उत्थानमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ । जसरी उपत्यकामा समयअनुसारको सङ्गीत विकास गरिएको छ, त्यसैगरी यहाँ ऋतु-महिनालाई आधार मानी सङ्गीतको व्यवस्थापन पुर्खाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्