काठमाडौंको फोहोर बोकेका १४ टिपरमा अज्ञात समूहले गरे तोडफोड



काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहर लिएर नुवाकोटको बन्चरे डाँडातर्फ जाँदै गरेको टिपरमा अज्ञात समूहले तोडफोड गरेको छ ।

उपत्यकाको फोहर बोकेर बन्चरे डाँडातर्फ जाँदै गरेको १४ वटा टिपरमा अज्ञात समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै उक्त समूहले सडक मर्मतमा प्रयोग गरिएका ३ वटा डोजरमा समेत तोडफोड गरेका छन् ।

यसअघि स्थानीयवासीले काठमाडौं उपत्यकाले आफूहरूसँगको सहमति कार्यान्वयन नगरेको भन्दै फोहर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी दिँदै आएका थिए । स्थानीयबासीले उपत्यकाको फोहरले आफूहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै विरोध गर्दै आएका थिए ।

सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका-१ का बासिन्दाले पनि केही दिनयता फोहोर लैजान रोकेका थिए । त्यस्तै, मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।

काठमाडौं उपत्यकाको फोहर हाल बन्चरे डाँडामा व्यवस्थापन गरिँदै आएको छ । यसअघि सिसडोलमा व्यवस्थापन गर्ने गरिएकोमा बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण कार्य सकिएपछि गत जेठबाट त्यहाँ फोहर व्यवस्थापन गर्न थालिएको थियो । सरकारले १७ वर्ष लगाएर बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो ।

बन्चरे डाँडामा फोहर व्यवस्थापन शुरू भएपछि उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने अपेक्षा गरिएको थियो । तर, स्थानीयवासीले विभिन्न माग राख्दै पटक-पटक अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्