सुदूरपश्चिममा सुरु भयो देउडा प्रतियोगिता



भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा सुरु भएको प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुनेछ।

रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि संचालन हुदैँ आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका ६ वटा महिला समूहले भाग लिएका छन्। यो प्रतियोगिताले त्यहाँको कला, संस्कृति र पहिरनको संरक्षणमा टेवा पुगेको हुक्काचिलिम कार्यक्रम प्रस्तोता ओमप्रकाश ओझाले बताए।

देउडा खेलगौराको मुख्य आकर्षणका रुपमा रहेको बताउँदै ओझाले सुदूरपश्चिमको कला, संस्कृति जर्गेना गर्न सबैले हातेमालो गर्नुु आवश्यक रहेको बताए। प्रतियोगितामा वियजी टिमलाई नगदसहित सम्मान गरिने छ।

त्यसैगरी भीमदत्तनगरमै सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महिला देउडा प्रतियोगिता सुरु भएको छ। २०५२÷०५३ सालदेखि आफूहरु देउडा र सुदूरपश्चिमको लोक संस्कृति संरक्षणमा जुटेको सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजका अध्यक्ष डा टेकराज पन्तले बताए।

समाजले आयोजना गरेको महिला देउडा प्रतियोगिता मङ्गलबारसम्म सञ्चालन हुने छ।

 

प्रतिक्रिया दिनुहोस्