गुण्डाहरुको भागाभाग !



काठमाडौं : केही समयअघि गुण्डाहरुको जगजगी यति थियो कि सर्वसाधारण, व्यापारिक घरानादेखि सबै गुण्डा भनेसी तर्सिनु पर्ने अवस्था थियो । तर, अहिले यो अवस्था छैन । स्थिर सरकार गठनसँगै गुण्डाहरु प्रति सरकारले लिएको नीतिले गुण्डाहरुको भागाभाग भएको हो ।  

सरकारले आर्थिक पारदर्शिताको नीतिलाई तीव्र पारेपछि आपराधिक गतिविधिबाट आर्जित रकम व्यवसायिक गतिविधिमा लगानी गर्ने क्रम पछिल्लो समय घटेको छ ।

यद्यपी, विभिन्न आपराधिक समूह सञ्चालन गर्ने व्यक्तिहरुले भूमिगत शैलीमा व्यवसायिक गतिविधिमा संलग्नता जनाउने क्रम भने रोकिएको छैन । 

प्रहरीसँगको मुठभेढका क्रममा गुण्डा नाइकेहरु दिनेश अधिकारी (चरी), कुमार श्रेष्ठ (घैटे), मनोज पुन लगायतका गुणहरुको मृत्युपछि आपराधिक समूह सञ्चालन गर्ने वा एकल रुपमा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु शहरी जीवनबाट एकाएक गुपचुप भएका छन् ।

त्यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आपराधिक गतिविधिबाट रकम आर्जन गरेको आशंकामा राजीव गुरुङ (दिपक मनाङे), गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरीलगायतलाई कारवाहीको दायरामा ल्याएपछि त्यस प्रकारका लगानीबाट लाभान्वित हुँदै आएका व्यापारिक कारोबारमा मन्दी छाएको थियो । यद्यपी, उनीहरु सबैले विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।

कतिपयले राजनीति, व्यवसायिक र सामाजिक आवरण ग्रहण गरेका छन् भने कतिपय देश बाहिर बसेर त्यस्ता गतिविधि सञ्चालन गरिरहेका छन् ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले अहिले गुण्डाहरुले खासै आफ्नो गतिविधि नगरेको बताए । उनले भने, ‘पहिलेका नाम चलेका गुण्डाहरु केही सकिए भने केही राजनीतिक क्षेत्रमा क्रियाशील रहेका छन् । दिपक मनाङे अहिले प्रदेश संसद रहेका छन् । त्यस्तै अन्य गुण्डाहरु पनि आ–आफ्नो व्यवसायमा क्रियाशील रहेका छन् । सानातिना गुण्डाहरुको के कुरा गर्नु ?

राजधानी उपत्यकामा नाम चलेका ‘डन’हरु मध्ये ‘चक्रे मिलन’का नामले चिनिने मिलन गुरुङ पछिल्लो समय कुनै पनि गतिविधिमा देखिएका छैनन् । उनका बालुवा, जग्गा र रेष्टुरेण्टका कारोबारमा उनका भाइ तेजेन्द्र गुरुङ सक्रिय छन् ।

अर्का ‘डन’ दिपक मनाङे त्यसप्रकारका गतिविधिबाट आफूलाई अलग देखार्ई राजनीतिमा सक्रिय छन् । उनी ०७४ मंसिरको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा मनाङबाट निर्वाचित भएका थिए । र हाल नेकपामा प्रवेश गरेका छन् । कतिपयको भनाइमा मनाङे अपराधिक गतिविधिबाट आर्जित रकमलाई वैद्य बनाउन नेकपामा प्रवेश गरेका हुन् ।

चुनाव जितेलगत्तै उनी पुरानो ज्यान सम्बन्धी मुद्दाको भुक्तान हुन बाँकी कैदबापत पक्राउ परेका थिए । ०५९ सालमा पानीपोखरीस्थित चाइनिज चुफाङ रेष्टुरेण्टमा चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको घटनामा मनाङेसहित उनका समूह आरोपित थियो । त्यसमध्ये गणेश लामा र सञ्जय डंगोलले अदालतबाट सफाइ पाइसकेका थिए । मनाङे भने ०६१ सालमा पक्राउ परी दुई वर्ष पुर्पक्षका लागि थुनामा परेका थिए ।

मनाङे पुर्पक्षका लागि थुनामा परेकै बेला उनको समूहबाट गणेश लामा अलग भइ उनीसँगको साझेदार व्यवसायलाई एकल स्वामित्वमा लगेका थिए । ठमेलभरी एकछत्र राज जमाएका मनाङे ०६३ सालमा जेलबाट छुट्दासम्म ठमेलको २५ प्रतिशत व्यवसायमा मात्र सिमित हुन पुगेका थिए ।

त्यसो त ठमेलको व्यवसायमा चक्रे मिलनले पनि आँखा नलगाएका हैनन् । मनाङे समूहको आरोपअनुसार चक्रे निकटका काजी शेर्पाले ठमेल किचेन रेष्टुरेण्टमार्फत त्यस क्षेत्रमा अधिपत्य जमाउन प्रयास गरेका थिए । तर, गणेश लामा, टासी घले, तीर्थ लामा, रमेश श्रेष्ठ, राजेन्द्र दुलाल (बोस), मनोज आचार्यसहितका मनाङे समूहले अनेकन हतकण्डा अपनाएर काजीलाई ठमेलबाट विस्थापित ग¥यो । तर, चक्रे र काजीकै ईशारामा ‘शो गर्ल’ नामक रेष्टुरेण्टको माध्यमबाट रोज राणा ठमेल छिरे । यो कुरा चाल पाएपछि मनाङे समूहकै योजनामा राणा विस्थापित भए । 

यसपछि मनाङे समूहमा विभाजन आयो । 

स्वयं दिपक मनाङ ०५६ सालको आम चुनावदेखि राजनीतिक गतिविधिमा संलग्न भइसेका थिए । त्यसबेला उनी पशुपतिशमशेर राणाको बडिगार्डका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका थिए । तर, राप्रपामा धेरै समय टिकेनन् । राप्रपाबाट असन्तुष्ट भएपछि उनी कांग्रेस प्रवेश गरे । नेपाल विद्यार्थी संघका नेता किशोरसिंह राठौरको छत्रछायाँ पाएपछि उनी काठमाडौं बसी–बसी तरुण दल मनाङको अध्यक्ष भए । कांग्रेसमा पनि लामो समय टिकेनन् । शाही शासनको शुरुवातसँगै राजावादी बने । तर, त्यही बेला उनी पक्राउ परी जेल चलान भएका कारण तत्कालिन सरकारसँग रुष्ट बने । जेलबाट रिहालगत्तै व्यवसायिक गतिविधिमै सक्रिय हुन चाहे । तर, खस्किएको र सहकर्मीबाटै धोका पाएको व्यवसायबाट अगाडि बढ्न सकेनन् ।

उनका प्रतिस्पर्धी चक्रे मिलनचाहीँ शुरुवातदेखि नै तत्कालिन एमाले कार्यकर्ताको रुपमा प्रस्तुत भइरहे । तर, पार्टीका कुनै सांगठनिक गतिविधिमा उनी देखिएनन् । एमाले हुनुको नाता हो, प्रदीप नेपाललाई भिनाजु भन्नु । नेपालपत्नी झुमा इलामकी लिम्बुकी छोरी भएको नाता लगाउँदै नेपाललाई उनले भिनाजु भन्ने गर्छन । तर, चक्रे गोरखाका स्थायीवासी, गुरुङका छोराबीच कुनै नाता भने थिएन ।

मनाङ समूहको निरन्तरको प्रतिकारका कारण मुख्य व्यापारिक थलो ठमेलमा चक्रे समूहले प्रवेश नपाएपछि चक्रेहरुले ठमेल वरिपरि आफ्नो समूहको अधिपत्य स्थापित गर्न थाल्यो । 

त्यसक्रममा कलंकीमा ‘बाबु’ भनिने विश्वक्रान्ति सिंह, बनस्थलीमा समिरसिंह बस्नेत, बालाजु, सामाखुशी, नयाँबजारमा कुमार घैँटै, साजन महर्जन र मनराज गुरुङमार्फत आफ्नो प्रभाव विस्तार गरे । त्यसबीचमा मनाङे समूहमा रहेका नक्सालका सञ्जय डंगोलले समूह फेरे, चक्रेतिर लागे ।

उता ठमेल, दरबारमार्ग, सुन्धारा र बत्तीसपुतलीमा केन्द्रीत मनाङे समूह आफू–आफूमै विभाजित भयो । ०६१ सालपछि मनाङेको बत्तिसपुतली र सुन्धाराको अधिपत्य पूर्णत अन्त्य भइसकेको थियो । बत्तिसपुतलीमा क्याबिन रेष्टुरेण्टबाट व्यवसाय थालेका गणेश लामा, तीर्थ लामाहरु ०५४ सालमा मनाङेको दरबारमार्गस्थित क्लब डाइनेस्टीको बाउन्सरका रुपमा प्रवेश गरेका थिए । तर, मनाङे पुर्पक्षका लागि जेल चलान भएपछि गणेश, तीर्थहरु आफैँ उक्त समूहबाट अलग–अलग भइ गतिविधिमा संलग्न भए ।

‘काभ्रेली समूह’ का नामले परिचित उक्त समूहले ०६० देखि ०६४ सालसम्म व्यापक आम्दानीको स्रोतका रुपमा रहेको रक्तचन्दन तस्करीका लागि सडक सुरक्षाबापत करोडौँ रकम आर्जन गरेको आरोप लाग्ने गरेको छ ।

ठमेलमा मनाङे र गणेश लामा समूहकै व्यवसायमा कर्मचारीका रुपमा काम गरेका व्यक्तिहरु क्रमशः उदाउन थाले । त्यसक्रममा गणेश लामाका भाइ पर्ने अमित लामाले होटल याक एण्ड यतिमा सञ्चालित क्लब प्लाटिनमबाट आफ्नो व्यवसायिक प्रभुत्व जमाए । उनी तत्कालिन युवा संघा कोषाध्यक्षसम्म भए । सोही समूहका बलराम सापकोटा (बले) क्यासिनोमा लगानी गर्ने लगानीकर्ताका रुपमा उदाए । गणेश लामा विजय गच्छेदार उपप्रधान तथा गृहमन्त्री हुँदा फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । हाल गच्छेदार कांग्रेसमा प्रवेश गरेसँगै हाल नेपाली कांग्रेमा समाहित भएका छन् । लामा पनि आफ्नो कालो धन सेतो बनाउनका लागि राजनीतिक छहारी खोज्दै गच्छेदार हुँदै कांग्रेसमा पुगेका छन् । 

पहिला मनाङे समूहमा रहँदा दावा लामा ठमेलस्थित गो–गो बारका बाउन्सर थिए । तर, पछि काजी शेर्पासँग निकट भएपछि उनी मनाङे विरोधीका रुपमा प्रस्तुत भए । पहिला गणेश लामा समूहमा रहेका राम गिरी र दावाबीच सम्बन्ध बिग्रियो ।

गणेश र तीर्थ लामाहरुले व्यवसायिक गवितिधिमा आफ्ना सहायकहरुलाई स्थापित गर्न थालेपछि आफूहरु राजनीतिमा सक्रिय भए । यद्यपि, गणेश निर्माण व्यवसाय क्षेत्रमा पनि सक्रिय छन् । रौता कन्स्ट्रक्सनका उनी प्रवन्ध निर्देशक हुन् । उनी ०६४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंहको पक्षमा थिए । तर, विजय गच्छेदारले कांग्रेस परित्याग गरेपछि उनी उनकै पार्टीमा सक्रिय भए । ०७४ को चुनावमा काभ्रेबाट प्रदेशसभा सदस्यमा उम्मेदवार पनि बने, तर हारे । 

तीर्थ लामा भने ०७० कै निर्वाचनमा दोस्रो संविधानसभा सदस्य बने । त्यसयता उनी पुराना गतिविधिबाट अलग छन् ।

मनाङेसँग आफ्ना सिमिति सहयोगीमात्र साथमा रहे । त्यसमध्ये ठमेल पर्यटन परिषद्का अध्यक्ष भएका समिर गुरुङ मनाङेका विश्वासपात्रका रुपमा चिनिन्छन् । 

मनाङेका अर्का विश्वासिला सहयोगी हुन् उमेश लामा । उनी मनाङेका तर्फबाट कन्स्ट्रक्सन कम्पनी सञ्चालनमा छन् ।

मनाङेसँगै निकट रहेका निरमाया दोहोरीका सञ्चालक रमेशबाबु श्रेष्ठलाई ०६३ सालमा चक्रे समूहले खुकुरी प्रहार गरेपछि उनी सम्पूर्ण गवितिधिबाट अलग भए ।

आपराधिक समूहहरुमा आएको संकटको फाइदा केही प्रहरी अधिकृतले उठाएको बताइन्छ ।

अहिले निलम्बनमा रहेका डिएसपी कुमोध ढुंगेल समिरमान सिंह बस्नेतका फुपुका छोरा (दाइ) पर्छन् ।  बस्नेत निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद् गौचन हत्या अभियोगमा अहिले थुनामा छन् । निलम्बित डिएसपी ढुंगेलले प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटेको संरक्षण गरेको आरोप लाग्ने  गरेको छ । घैँटेद्वारा सञ्चालित लाजिम्पाटस्थित ‘दी लास्ट फ्राइडे’ रेष्टुरेण्टमा कुमोध ढुंगेलको लगानी भेटिएको अनुसन्धानरत प्रहरी अधिकारीहरुले बताएका छन् ।

ठमेलबाट उदाएका राम गिरीका व्यापारिक गतिविधिमा पनि कुमोधको संलग्नता भेटिएको छ । गिरीद्वारा चावहिलस्थित केएल टावरमा सञ्चालित इम्पेरियल पार्टी प्यालेस, दरबारमार्गस्थित डेभाजु लाउञ्ज बार, क्लब भिक्ट्रीमा ढुंगेलको लगानी रहेको सम्भावनाबारे खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

रानीबारी हत्याकाण्डमा दोषी ठहर भएपछि जेल चलान भएका गुण्डानाइके मनराज गुरुङका व्यवसायिक गतिविधि उनकी पत्नी ललिता अधिकारी र दाई उमेशमार्फत सञ्चालित छन् ।

दिनेश अधिकारी (चरी) प्रहरीद्वारा मारिएपछि उनका व्यवसाय भाइ ध्रुवले सम्हालिरहेका छन् । ध्रुव ठमेलमा होटल व्यवसाय गर्छन् ।

व्यापारिक साभेदारसमेत रहेका कुमार घैँटे मारिएपछि सामाखुशीका साजन महर्जन भने गुमनाम भएका छन् ।

काठमाडौं मलको ठेक्काबाट निकालिएका राजु गोर्खाली अहिले रेष्टुरेण्ट व्यवसायमा संलग्न    रहेका    छन् । अर्का डन सुजन पौडेल उर्फ रमेश बाहुन अहिले जेलभित्र रहेका छन् । उनले जेलभित्रैबाट आफ्नो गतिविधिहरु सञ्चालन गरिहरको बुझिन आएको छ । 

केही अघिसम्म राजीनितक संरक्षण र प्रहरी प्रशासनको छहारीमा  मौलाएको गुण्डागर्दी अहिले सेलाएको छ । यसबाट व्यापारी, व्यवसायी र सर्वसाधारणलाई राहत मिलेको छ । 

काठमाडौंमा धेरै गुण्डाहरुको सक्रियता नभएकैले होला कालिमाटी वृत्तका प्रहरी नायव निरीक्षक रुगम कुँवरले प्रति प्रश्न गरे : काठमाडौंमा डन छन र ? 

 

प्रतिक्रिया दिनुहोस्