नेताविरुद्ध टिकाटिप्पणी गर्नेलाई नेकपाको डण्डा



काठमाडौं : पार्टीमा अराजकता बढेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले त्यसलाई रोक्न अनुशासनको कारवाही गर्ने भएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज (सोमबार) बसेको सचिवालय बैठकले पार्टी नेताका विरुद्धमा समाजिक सञ्जालमा अराजक शैलीमा टिकाटिप्पणी गर्नेलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । 

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले केन्द्रदेखी स्थानीय तहसम्मका नेता–कार्यकर्ताहरुका पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टीको सम्बन्धित कमिटीमा राख्नुपर्ने निर्णय गरेको छ । 

‘पछिल्लो समय पार्टी नेताहरुकै अभद्र शैलीमा सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय भएको हो’ श्रेष्ठले भने, ‘निर्णय उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्नेदेखी अनुशासनको कारवाही समेत हुन्छ ।’

पार्टी निर्णय उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्नेदेखी अनुशासनको कारवाही गर्ने निर्णय भएको उनले बताए । पछिल्लो समय पार्टीका नेताहरुका बारेमा सामाजिक सञ्जालमै अभद्र टिकाटिप्पणी हुन थालेपछि बैठकले यस्तो निर्णय गरेको हो । 

थपिए चार केन्द्रीय सदस्य

सचिवालय बैठकले चार जना नवप्रवेशीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । 

नयाँ शक्ति र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । 

केन्द्रीय सदस्यमा मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देबेन्द्र पराजुली रहेका छन् । 

पराजुली र धमला डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी समाजवादीमा एकीकरण गरेपछि नेकपामा आएका थिए । यसैगरी राईद्वय भने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।

पार्टीको बिधान अनुसार केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्था अनुसार चारै जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको हो । अब नेकपा केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय भएको छ । 

यसैगरी बैठकले केही जिल्लाको इन्चार्ज, सहइन्चार्ज तथा विभाग, जनवर्गीय संगठनहरुका इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको छ । 

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानु अघि पार्टीको बैठक, निर्णय सहम्मतीमा गर्ने अधिकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए । 

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण पश्चात प्रचण्डको अध्यक्षमा यो पहिलो बैठक हो । यस अघिका बैठकहरुको अध्यक्षता ओलीले गर्दै आएका थिए । पार्टी एकताको १५ महिनामा प्रचण्डले पहिलो चोटी पार्टी बैठकको अध्यक्षता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्