अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड



अछाम । अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन्। आर्थिक वर्ष २०७७–७८ मा अछामका १० स्थानीय तहले वार्षिक ५ करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ।

१० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व संकलन गरेका छन्। साँफेबगर नगरपालिकालिकाले आर्थिक वर्ष २०७७-७८ मा १ करोड ६५ लाख ८ हजार र तृर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार राजश्व संकलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिकाभन्दा १ करोड ४४ लाख ६३ हजार बढी राजश्व संकलन गरेको छ । साँफेबगर नगरपालिकाले केही स्थानीय तहबाहेक अन्य पालिकाभन्दा तेब्बर–चौब्बर बढीले राजश्व संकलन गरेको छ।

चौरपाटी गाउँपालिकाले ९४ लाख ८६ हजार मंगलसैन नगरपालिकाले ७७ लाख ९७ हजार, पञ्चदेवल बिनायक नगरपालिकाले ४५ लाख ४४ हजार र ढकारी गाउँपालिकाले ४४ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेका छन्।

कमलबजार नगरपालिका ४२ लाख १६ हजार, मेल्लेख गाउँपालिकाले ३४ लाख २१ हजार, बान्नीगढी जगयढ गाउँपालिकाले ३० लाख ६१ हजार र रामारोशन गाउँपालिकाले २९ लाख ३ हजार रुयैयाँ राजश्व संकलन गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकिकृत सम्पत्ति र घरजग्गा वहाल कर, व्यवसायी कर, सिफारिस दस्तुर, व्यक्तिगत घट्ना दर्ता, अन्य प्रशासनिक शुल्कबाट राजश्व संकलन गर्न व्यवस्था रहेको छ । केही स्थानीय तहले नदीजन्य पदार्थ र स्काभेटरको प्रयोगबाट पनि राजश्वस संकलन गर्दै आएका छन्।

स्थानीय तहले संकलन गरेको राजश्व विकास निर्माणका कार्यमा खर्च नभई सेवा सुविधा र प्रशासनिकमा वढी खर्च गर्ने गरेको पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनमा प्रशासनिक खर्च नियन्त्रण गदै प्राप्त अनुदान र राजश्व वाँडफाँडको अधिकतम विकास निर्माण कार्यमा खर्च गर्नको लागि सुझाव पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्