सँगै लिएर हिड्ने भट्टराईलाई देउवाको वचन



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ५ दलीय सत्ता गठबन्धनमा समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको भन्दै देउवाले भट्टराईलाई सँगै लिएर हिड्ने वचन दिएका हुन् ।

मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका बाबुरामलाई प्रधानमन्त्री देउवाले ५दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् । भेटका क्रममा बाबुरामले ५ दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

आफूहरु यही ५ दलीय गठबन्धनकै हिस्सेदार रहेको तर, बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गरेको दाबी सहित देउवालाई भेट्न भट्टराई बालुवाटार पुगेका थिए ।

५ दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने वचन दिएका छन्।

यसअघि सत्ता गठबन्धनको सोमबार बसेको कार्यदल बैठकमा पनि बाबुरामलाई समेट्नुपर्ने विषयमा कुरा उठेको थियो। प्रतिगमनविरुद्धको आन्दोलनमा बाबुरामको भूमिकाको मूल्यांकन सहित उनलाई गठबन्धनमा समेटिनुपर्ने माओवादीको तर्फबाट कार्यदलमा रहेका नेता वर्षमान पुनलगायतले धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्