सिरहाका ६ दूध डेरीमा सिलबन्द 



दिनेश्वर गुप्ता

लहान : सिरहाका छ दूध डेरीमा सिलबन्द गरिएको छ । अखाद्य बस्तु प्रयोग गरी अवैध रूपमा सञ्चालन गर्दै आएको छ दूध डेरी उद्योगमा अनुगमन टोलीले आज सिलबन्दी गरेको हो । 

संयुक्त बजार अनुगमनको टोलीले दुर्गन्धित तथा कागजपत्र बिना नै सञ्चालन गरिरहेको डेरी उद्योगमा सिलबन्दी गरिएको हो ।

सो टोलीले सिरहामा रहेको च्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, सुधा दूध डेरी उद्योग नरहामा सिलबन्दी गरिएको छ ।

सिलबन्दी भएका अधिकांश डेरी उद्योगमा गाईभैंसीको सट्टा प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको पाइएको छ । योसँगै विभिन्न अखाद्य बस्तु प्रयोग गरी उपभोक्तालाई ज्यान जोखिममा पार्ने गरेको छ ।

कतिपयको डेरी उद्योगमा नेपाल सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको र दुर्गन्धित रूपमा डेरी उद्योग फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार डेरी उद्योगीहरूलाई बारम्बार मापदण्ड अपनाउन निर्देशन दिएपनि अटेरी गरेकाले सिलबन्दी गर्न बाध्य भएको बताए ।

सिरहामा ४५ दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको छ । तीमध्ये कतिपयको कागजपत्र छैन भने कतिपयको मापदण्ड विपरीत सञ्चालन गर्दै आइरहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार हालै गरेको अनुगमनमा युरिया मल, चिनी, मानव जीवनको स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने पाउडर दूधको प्रयोग, मापदण्डविपरीत, अत्यधिक फोहर मैलाजस्ता थुप्रै त्रुटि देखिएको बताए । 

जिल्ला प्रशासन कार्यालय सिरहा का प्रशाशकीय अधिकृत कमल आचार्यका अनुसार अनधिकृत रूपमा दर्जनौंको संख्यामा अवैध ढंगले डेरी उद्योगहरू सञ्चालन भइरहेका छन् । दर्तावाल सबै डेरी उद्योगलाई अनुगमन नगरिसकेकाले सम्भवतः ५० प्रतिशत डेरी उद्योग मापदण्डविपरीत रहेको बताए ।

अनियमित ढंगले सञ्चालन गरिरहेका डेरी उद्योगलाई कानुनी दायरामा ल्याउन तथा मानवीय रूपमा अखाद्य उपभोग्य वस्तु तयार गरी बिक्रीवितरण गर्नबाट रोक्न अनुगमनको थालनी गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

दुई दिनसम्म चलेको संयुक्त सिरहा बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशाशकीय अधिकृत कमल आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंह, घरेलु कार्यालय लहानका काजीमान लिम्बु र राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका रामानन्दप्रसाद गुप्ता लगायतका थिए ।

 

प्रतिक्रिया दिनुहोस्