मोटरसाईकल चोरी गरेको आरोपमा ६ जना पक्राउ, १२ मोटरसाईकल बरामद



हेटौंडा । बारा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। गएको १९ साउनमा बरियारपुरबाट २ थान मोटरसाइकल चोरी गरी भाग्ने क्रममा जिल्लाको पचरौता नगरपालिका वडा नंबर ७ बेनौली टोल बस्ने वर्ष २१ को बिशाल कुमार सहनी र वर्ष २० को भोला पटेललाई बरियारपुरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिएका छन्।

चोरी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान गर्दै जाने क्रममा निजहरूको बयानको आधारमा मोटरसाईकल चोरी संलगन थप ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप पक्राउ पर्नेहरुमा पचरौता ७ बेनौलीकै २० वर्षीय बृजमोहन साह सोनार,२० वर्षीय बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी रहेका छन्।

प्रहरीले अनुसन्धानको क्रममा १२ थान चोरीको मोटरसाईकल बरामद गरेको समेत जनाएको छ। पछिल्लो समय बारामा विभिन्न स्थानहरूमा मोटरसाईकल चोरीका घटनाहरू बढेको समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्