रोकिएन चितवनमा लामिछाने समर्थक र प्रहरीबीच झडप



काठमाडौं : पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप रोकिएको छैन । सोमबार बिहानैदेखि सुरु भएको झडप अहिलेसम्म नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आइतबार चितवनको भरतपुरमा जिल्ला प्रशासनले चार किल्लो तोकेर निषेधित क्षेत्र तोकेको थियो । तर, निषेधित क्षेत्रबाहिर रवि समर्थक र प्रहरीबीच झडप भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले द नेपालटपलाई जानकारी दिएको छ । 

रवि समर्थकहरुले प्रहरीमाथि ढुंगा हान्ने र प्रहरीले लाठ्ठी र अश्रुग्या प्रहार गरी रहेको छ । चितवनको अवस्था अहिले तनाव ग्रस्त रहेको चितवन प्रहरीले जानकारी दिए । 

झडपमा रविका समर्थकहरु सामान्य घाइते भएका छन् भने प्रहरी तर्फपनि केही जवान घाइते भएको प्रहरीले जनाएको  छ । 

प्रदर्शनकारीले भरतपुरका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । पत्रकार शालिकराम पुडासौनीको हत्यामा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई फसाउन खोजिएको भन्दै रवि समर्थकहरुले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका छन् । 

जिल्ला मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । 

सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्