सन्तुष्ट सौगात



काठमाडौं । अभिनेता सौगात मल्ल उमेरले ९ वर्ष टेक्दै गर्दा ‘हिरो’ बन्ने सोचिसकेका थिए। भलै त्यो उमेरमा उनी हिरो बनेनन्। उनले ‘हिरो’ हुन फिल्म ‘कागेबनी’ नै पर्खनुपर्‍यो ।

‘कागबेनी’पछि पछिल्लो फिल्म ‘दुई नम्बरी’सम्म आइपुग्दा उनले झन्डै ४० फिल्ममा अभिनय गरेका छन्। यीमध्ये कति फिल्म बक्सअफिसमा ‘हिट’ भए त कति ‘फ्लप’। यो फिल्मी यात्रामा सौगातले स्क्रिप्टको महत्वलाई राम्ररी बुझेका छन्।

सौगात आगामी भदौ ३ गतेबाट रिलिज हुने फिल्म ‘माइकल अधिकारी’को प्रमोसनमा व्यस्त छन्। फिल्ममा सौगातको अपोजिटमा अभिनेत्री सृष्टि श्रेष्ठ छिन्। फिल्मले आर्थिक अभावमा पैसाका लागि अरूका लागि कोख भाडामा दिन तयार लगाउन तयार १ दम्पतीको कथा बोल्छ।

फिल्मी करियरमा सौगातले कति फिल्मको स्क्रिप्टमा चित्त बुझाएनन्, कतिमा परिमार्जन नै गरे। तर ‘माइकल अधिकारी’को हकमा भने सौगातका लागि अहिलेसम्मकै फरक अनुभव रह्यो।

‘यो फिल्म विषयवस्तुको हिसाबले फरक छ। मैले कमेडी र गम्भीर दुवै फिल्ममा अभिनय गरेको छु। तर ‘माइकल अधिकारी’को स्क्रिप्ट अहिलेसम्म गरेका फिल्मको भन्दा उत्कृष्ट लाग्यो’, सौगात भन्छन्, ‘धेरै स्क्रिप्टमा खाल्डाखुल्डी भेटिन्छन्। त्यसलाई बनाउला भन्ने हुन्छ । तर यसमा त्यस्तो पाइनँ । स्क्रिप्ट हेर्दा कमजोरी देखिनँ । स्क्रिप्टमा पाइप फिट गरिसकिएको थियो । त्यसमा हामी मात्र बग्नुपर्ने थियो । म सन्तुष्ट छु ।’

सौगातको बुझाइमा अहिलेसम्म उनले गरेका व्यावसायिक फिल्ममध्ये बगेको फिल्म ‘माइकल अधिकारी’ नै हो । ‘स्क्रिप्ट पढ्दा र सुटिङ गरिरहँदा यो दृश्यमा यस्तो भइदिए हुन्थ्यो भन्ने कहिल्यै भएन । किनकि स्क्रिप्टमा थप्नुपर्ने केही थिएन । सबै चिजलाई मिलाएर लगिएको थियो,’ उनी भन्छन् ।

सौगातले तामझामबिनै सुटिङ पूरा गरेको सुनाए। अधिकांश स्क्रिप्ट पढ्दा आफ्नो चरित्रलाई कसरी ‘कन्भिन्स’ गर्ने भन्ने अन्योल भए पनि ‘माइकल अधिकारी’को हकमा त्यो अनुभव लिन नपाएको उनले खुलाए। ‘फिल्ममा एउटा सुट गरेपछि अर्को ४० नम्बरको दृश्य अथवा ९९ नम्बरको दृश्य सुट गरिन्छ। तर यसमा चाहिँ त्यस्तो गर्नुपरेन।

हामीले सिरियल्ली नै गर्‍यौँ’, सौगात भन्छन्, ‘अधिकांश फिल्ममा कल्पना गरेर काम गर्नुपर्ने हुन्छ। कुनै पनि दृश्यको सुट भइसकेको छैन भने त्यो सुट भइसकेको जस्तो अनुभव गर्नुपथ्र्यो। कल्पना गरेर वा कनेर त्यसलाई निकाल्नुपथ्र्यो। ‘माइकल अधिकारी’ त्यसबाट मुक्त थियो।’

सौगात रङ्गमञ्च पृष्ठभूमिबाट फिल्ममा उदाएका कलाकार हुन्। धेरै फिल्ममा चरित्र निभाउँदा उनलाई नाटक खेलेको जस्तै अनुभव हुँदो रहेछ। ‘फिल्ममा काम गरिरहँदा अगाडिको दृश्य कस्तो हुन्छ भन्ने कलाकारलाई थाहा हुँदैन। आफ्नो सट दिइसकेपछि हिजो मैले यस्तो गर्नुपर्ने रहेछ भन्ने लाग्थ्यो । फेरि त्यसलाई दोहोर्‍याउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो’, उनको दाबी छ, ‘यो फिल्ममा मैले नेचुरल्ली नै अभिनय गरेको अनुभव भयो । कुनै दृश्य दोहोर्‍याउनु परेन।’

सौगातको बुझाइमा पटकथा राम्रो भएपछि मात्र कलाकारको काम पनि राम्रो हुन्छ । उनको अनुभवमा त्यस्तो पटकथा पाउन कलाकारले लामै समय पर्खनुपर्छ। अभिनेत्री सृष्टिले सरोगेट आमाको चरित्र निर्वाह गरेकी छन् । सृष्टिका लागि कमेडी र आमाको भूमिका अभिनय गरेको पहिलो अनुभव हो ।

‘हरेक संवाद र भावना सिर्जना गर्नुपथ्र्यो। वर्कसप गरिरहँदा केही असहज अनुभव भएको थियो। तर अग्रज कलाकार भएकाले उहाँहरूबाट धेरै कुरा सिक्न पाएँ’, सृष्टि भन्छिन्, ‘पहिलोपटक आमाको भूमिका निभाएकाले पनि आमा बन्दा कस्तो हुँदो रहेछ भन्ने अनुभव लिने मौका पाएँ। फ्लोरमा जानुअघि यो विषयमा अनुसन्धान पनि गर्‍यौँ । उनीहरूलाई कसरी ‘कन्भिन्स’ गराइन्छ। आफूले बच्चा जन्माएपछि त्यो बच्चा अरूलाई दिँदा कति भावुक भइन्छ भन्ने कुरा बुझ्न पाएँ।’

रञ्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहोरालगायतका कलाकारको अभिनय छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्