रवि लामिछाने धरौटीमा रिहा



काठमाडौं : टेलिभिजनकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की पनि रिहा भएका हुन्। कँडेल ३ लाख र अस्मिता साधारण तारेखमा रिहा भएका छन्।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो। अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ ।

साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित कँडेल र अस्मिताको कारण मर्न बाध्य भएको बताएका थिए। त्यसैको आधारमा उनीहरु  साउन ३० गते काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । 

यस्तै लामिछानेलाई कार्यक्रम ‘जनतासँग सिधा कुरा’मा शालिकराम पुडासैनीको मृत्यु प्रकरणबारे कार्यक्रम सञ्चालन गर्न रोक लगाएको छ। साथै रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्