छोरीको प्रेमीलाई घरमै बोलाएर निर्घात कुटपिट



दाङ । दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादवलगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय विद्यार्थी मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ । कुटपिट गरेको अभियोगमा पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । काफ्लेका अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेलाको कक्षा १२ मा अध्ययनरत छन् । सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीसँग प्रेम गाँसेको भन्दै केटालाई बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको काफ्लेले जानकारी दिएका छन् ।

लाठीले अन्धाधुन्ध प्रहार गरेको पीडित मन्सारामले प्रहरी सामु बयान दिएका छन् । घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ ।

केटीका आफन्तले मान्सारामलाई नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको जनाएको छ । कागजमा केटालाई जबरस्ती सहीछाप गर्न लगाएको पीडितले प्रहरीसामु बयान दिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्