मिथिला जागरणका लागि देवघरसम्म यात्रा सुरु



सप्तरी । मिलाफ राजविराज र छिन्नमस्ता गाउँपालिकाको मैथिली अभियानी नेपालले मिथिला बोल बम अभियानले देवघर साइकल यात्रा २०७९ सुरु गरेको छ। मिलाफ नेपाल, राजविराजका अध्यक्ष रमिला साहको अध्यक्षतामा ‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराका साथ अभियानको शुभारम्भ गरेको हो।

मैथिली भाषा, साहित्य, कला-संस्कृतिको व्यापक प्रचार-प्रसार र जन-जागरणको उद्देश्यले सप्तरी नेपालदेखि भारत, देवघरको लागि ‘देवघर साइकल यात्रा २०७९ मंगलबार २ ठाउँमा कार्यक्रम गरी बिदा गरिएको हो।

छिन्नमस्ता गाउँपालिका वडा नं.१ विरपुरस्थित भोला बाबाको मन्दिर र राजविराजको राजेश्वरी राजदेवी मन्दिर पुगेर दर्शन गरेका हुन्।

मिलाफ संस्थापक अध्यक्ष देवेन्द्र मिश्र, अर्थ न्युजको सम्वाददाता तथा क्रान्ति केन्द्रका पत्रकार बाबुल मिश्र, मिलाफ सचिव र आइ लभ मिथिला तथा मधेस एक्सप्रेस डट कमका सम्पादक विद्यानन्द बेदर्दी, रेडियो नेपालका सम्वाददाता दीनानाथ यादव, मैसाप पूर्वअध्यक्ष तथा सूर्यांश पत्रिकाका शुभचन्द्र झा, सञ्चार यात्रा तथा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नेपालका अध्यक्ष करुणा झा, मैथिल महिला परिषद्का प्रतिमा देव र पिंकी झा, मिलाफ संस्थापक सदस्य शम्भू श्री, म्युजिक मैथिलीका मैथिल म्याक्स लगायतकाले यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए।

सोही कार्यक्रममा मिलाफ संस्थापक सदस्य तथा गायिका कंचना झाले महेशवाणी गाएर २७ जना यात्रीलाई बिदा गरेकी थिइन्। प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सख्डेश्वरीसम्मको दर्शन गरेपश्चात वैद्यनाथ धामको लागि यात्रीहरू देवघर प्रस्थान गरेका हुन्। ३ सय ५० किलोमिटर दूरी रहेको देवघर यात्राको लागि १० दिनको समय तय गरिएको मिलाफका अध्यक्ष रमिला साहले जानकारी दिइन्।

यसभन्दा पहिले नेपालमै पहिलो पटक सामूहिक रूपमा उक्त टिमद्वारा नै ‘मिथिला देवघर साइकल यात्रा’ २०७६ को आयोजन गरिएको थियो। २ वर्षदेखि कोरोनाको कारण निरन्तरता दिन नसेकेको र यस पटक निरन्तरता दिन गइरहेको मिलाफ राजविराजका अध्यक्ष साहको भनाइ रहेको छ।

अध्यक्ष साहले भनिन्, ‘अभियानमा नेपाली र भारतीय क्षेत्रको मैथिली भाषीहरूको सांस्कृतिक सद्भाव र भाषिक समनजस्ताको लागि गरिएको हो ठाउँ-ठाउँमा जन जागरण, भाषिक सन्देशमूलक र अन्तरक्रिया कार्यक्रम गरिने छ।’ सार्वजनिक मठ मन्दिर वा स्थलमा बास बसेर स्वयम् टिमद्वारा भोजन तयार गरी, खाई-पिई विश्राम गर्दै यो यात्रा तय हुने संयोजक सुभाष विरपुरियाले बताए।

पहिलो यात्राको क्रममा मैथिली भाषाको विशेषता र विशिष्टताका केन्द्रित विषय वस्तु राखेर मैथिलीका सम्पूर्ण बोली–शैलीहरूलाई एकताको सूत्रमा बाँध्ने प्रशंसनीय प्रयास गरिएको ‘मैथिली फूल नइँ फुलवारि छियै’ डकोमेन्ट्री भिडियो पनि निर्माण र सार्वजनिक गरिएको र यसपालि पनि केही नयाँ तरिका र थप विषयवस्तु यस्ता सामाग्रीहरू बन्ने सह-संयोजक गजेन्द्र गजुरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्