त्रिचन्द्र स्थापना भएकाे दिन यकिन छैन्, खोजको विषय बन्नसक्ने



काठमाडौं : राजधानीको प्रसिद्ध त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति अनुसन्धानकर्ताका लागि खोजको विषय बन्नसक्ने देखिएको छ । क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ ।

स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरूले कुन आधारमा स्थापना मिति उल्लेख गरेका छन् भन्ने पनि प्रस्ट छैन । क्याम्पस स्थापना भएको मिति वरपरको गोरखापत्रको अङ्क सुरक्षित नभएकाले पनि मिति किटान गर्न सकिने अवस्था छैन । त्रिचन्द्र बहुमुखी क्याम्पस नामकरण गरिए पनि अझै जनजिब्रोमा त्रिचन्द्र कलेज नै भन्ने गरिएको सो क्याम्पसले हरेक भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । क्याम्पसका कर्मचारीहरू ७५औँ वार्षिकोत्सवबाट मात्र स्थापना दिवस मनाउन थालिएको बताउँछन् । बिहीबार क्याम्पसले स्थापनाको १०२औँ वर्ष मनाएको छ ।

क्याम्पसका प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानेले झन्डै तीन दशकदेखि भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाइँदै आएको बताउँदै भन्नुभयो, “यो मितिका बारेमा म जवाफ दिनसक्ने अवस्थामा छैन । हामीसँग लिखत छैन । कुन र के आधारमा भदौ ५ लाई स्थापना दिवस मानियो भन्ने भन्न सक्दिनँ । ”

सन् १९९६ मा जिओ सोभेनियर नामक पुस्तिकामा इतिहासकार डा राजेश गौतमले त्रिचन्द्र कलेजको सम्पूर्ण इतिहास लेख्नुभएको छ र त्यसमा उहाँले १९७५ साल भदौ १२ गते क्याम्पस स्थापना भएको उल्लेख गर्नुभएको छ । उहाँले ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’ शीर्षक पुस्तकमा पनि सोही मिति लेख्नुभएको छ । याे समाचार अाजकाे गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्