सशस्त्रमा सूचना चुहावट प्रकरण : हेडक्वार्टर भन्छ- गम्भीर सुरक्षा खतरा



काठमाडौं । यतिबेला सशस्त्र प्रहरी बल, नेपालमा आफ्नो स्वार्थका लागि ‘आन्तरिक सूचना चुहाएको’ प्रकरण चर्चामा छ। राजनीतिक प्रतिशोध साँध्नका लागि दार्चुलाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा कार्यरत कामु. वरिष्ठ हवल्दार नरेशसिंह साहुले सङ्गठनको आन्तरिक सूचना चुहाएको बताइएको छ।

साहुले ४४ नम्बर गण मुख्यालय खलङ्गाभित्रको रासन भत्तामा गणका हाकिमले अनियमितता गरेको सूचना बाहिर ल्याइदिएका थिए । गणभित्रको हाजिरी विवरण मात्र नभएर उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराएको अभियोग छ ।

उक्त गणमा कार्यरत २५८ मध्ये १२२ जना सुरक्षाकर्मी एकै दिन अनुपस्थित भएको विवरणसहित गत २८ जेठमा धनगढीबाट सञ्चालित एक अनलाइनमा समाचार सार्वजनिक भएको थियो । केही दिन उपस्थित र अनुपस्थित प्रहरी कर्मचारीको सङ्ख्यात्मक विवरणसहित समाचार सम्प्रेषण भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका प्रमुख छन्– सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्ट। एसपी बिष्टले गणमा आर्थिक अनियमितता गरेको सूचना साहुले पत्रकार भनिएका सन्तोष सिंह ठगुन्नालाई दिएका थिए। गणभित्रको बेथितिबारे मात्र नभएर गणभित्र रहेको आन्तरिक हातहतियार र गोलीगठ्ठासहितको विवरण प्रसङ्गवश कोट्याएका थिए ।

त्यसपछि पत्रकारले समाचार प्रकाशन गरे। उक्त समाचार प्रकाशन भएपछि स्रोतको संरक्षण गनुपर्नेमा उल्टै ती पत्रकारले स्रोतको पोल खोलेपछि हवल्दार साहु विवादमा तानिएका हुन्।

उनले गणमै गएर हवल्दार साहुले नै आफूलाई सूचना दिएको भनी बयान दिएका थिए। सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आसमा रहेका साहु अहिले उल्टै सशस्त्रको फन्दामा परेका हुन् ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि हवल्दार साहुका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ । गत ३० जेठमा साहुलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्र प्रहरीको हेडक्वार्टर हल्चोक ल्याइएको थियो ।

फौजी सङ्गठनको आन्तरिक सूचना चुहाउनु अपराध हो । सङ्गठनको गोप्य र सम्वेदनशील सूचना भाइरबरलगायत सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमलाई उपलब्ध गराएको अभियोगमा हवल्दार साहुमाथि सङ्गठनले कारबाही गरिसकेको छ।

सङ्गठनको आन्तरिक सूचना बाहिर ल्याउँदा साहु पुर्पक्षका लागि जेल चलान भएका छन् । हाल हवल्दार साहु पुर्पक्षका लागि डिल्लीबजार कारगारमा छन् ।

सशस्त्र प्रहरी नियामवलीमा ‘सुरक्षासँग सम्बन्धित सूचना तथा खबरहरू राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा’ जन्मकैदको सजाय हुने व्यवस्था छ। सोहीअनुरूप साहुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

साहुविरुद्ध दायर गरिएको अभियोगपत्रमा ‘सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका हवल्दार मेजर सशस्त्र प्रहरी वरिष्ठ हवल्दार खिमसिंह बिष्टले मिति २०७९/०२/२८ गते नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाको आन्तरिक गोप्य सूचना हातहतियार गोलीगठ्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी सूचनाहरू स्थानीय पत्रकारमार्फत प्रसारण गर्न लगाएको साथै गणको आन्तरिक तथा सङ्गठनमा आँच आउने र सङ्गठनलाई प्रत्यक्ष असर पर्ने खालको गतिविधि गरेकोले सशस्त्र प्रहरी बल नम्बर २५ गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल नं. ४४ गण हेडक्वार्टर दार्चुलामा कार्यरत नरेशसिंह साहुलाई हदैसम्म कारबाही गरी पाऊँ’ भनिएको थियो।

सशस्त्र प्रहरीको विशेष अदालतमा मुद्दा दर्ता भएपछि हवल्दार साहुले सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ को उपदफा १ को (च) बमोजिम कसुर गरेका पाइयो । सोहीबमोजिम ८ साउनमा थुनछेकको बहसको क्रममा साहुलाई सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा ‘पछि ठहरेबमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको’ सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ।

यसरी फौजी सङ्गठनको आन्तरिक हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराउनाले गम्भीर सुरक्षा खतरा उत्पन्न हुने सशस्त्र प्रहरीका अवकाशप्राप्त एक जना पूर्वआईजी बताउँछन्। ती पूर्वआईजीले द नेपालटपसँगको कुराकानीमा भने, ‘यदि गणमा अनियमितता भएको थियो भने आफ्नो च्यानलमार्फत रिपोर्ट गर्नुपथ्र्यो । आन्तरिक कुरा बाहिर ल्याउन हुँदैनथ्यो ।’

गुनासो सुन्न र उजुरीका लागि सशस्त्र प्रहरी मुख्यालयमा एउटा छुट्टै शाखा नै खडा छ। ‘ती हवल्दारले आफ्नो विभागमा कहीँ कतै रिपोर्ट/उजुरी गरेको देखिँदैन। भित्र कति सुरक्षाकर्मी छन्, कति हतियार छन्, कसले के गर्छन्लगायत विषयबारे अनधिकृत व्यक्तिलाई सूचना दिएको समेत पाइयो। यसो गर्दा गम्भीर सुरक्षा खतरा उत्पन्न हुन्छ’, सशस्त्र प्रहरी मुख्यालयका एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘यसरी सङ्गठनको आन्तरिक सूचना चुहाउनु गम्भीर अपराध हो। त्यहीअनुरूप कारबाही भएको हो ।’

हवल्दार साहुले गणभित्रको अनियमितताबारे मात्र सूचना बाहिर दिएका भए पनि सङ्गठनले खासै चासो दिँदैन्थ्यो। तर, गणभित्रको आन्तरिक हातहतियार र गोलीगठ्ठाबारे नै सूचना चुहाएको पाइएपछि सशस्त्र प्रहरी बलले साहुमाथि ‘एक्सन’ लिएको हो । सशस्त्र प्रहरी नियामवलीमै प्रष्ट उल्लेख छ–जुनसुकै कर्मचारीले सङ्गठनभित्रको आन्तरिक सूचना बाहिर ल्याउन मिल्दैन । यदि ल्याएको अवस्थामा कारबाहीको भागीदार हुनुपर्छ।

त्यस्तै, सशस्त्र मुख्यालयका एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) थप प्रश्न गर्छन्, ‘अनधिकृत व्यक्तिलाई सङ्गठनभित्रको सूचना दिएर समस्या समाधान हुन्छ ?’ ती हवल्दारले आफ्नो च्यानलबाट रिपोर्ट गर्नुपर्ने ती एसपी बताउँछन् । यस्ता हर्कतले फौजी संस्कार कमजोर हुने र चेन अफ कमान्ड भत्कने ती एसपीको भनाइ छ।

‘एउटा कर्मचारी के कारणले जेल पुगको हो, पहिला त्यो बुझ्न आवश्यक छ’, ती एसपीले थप प्रश्न गरे, ‘के सङ्गठनको आन्तरिक सूचना बाहिर ल्याउनु फौजी नीति–नियमभित्र पर्छ ?’ कडा अनुशासनमा बस्नुपर्ने फौजी सङ्गठनका कर्मचारी फौजको मर्यादा, नियम र कानुनभित्र नबस्दा त्यसको परिणाम नराम्रो आउने सक्ने ती एसपीको बुझाइ छ।

सशस्त्र प्रहरीका इकाइहरूभित्र एकै पटक सयौँ सुरक्षाकर्मीलाई बिदा छाडेर उनीहरूको रासन भत्ता बाँडीचुँडी खाने गरेको आरोप धेरै वर्षदेखि लाग्दै आएको छ । त्यसो भए ४४ नम्बर गणका सुरक्षाकर्मी बिदा बस्दा जोगिएको रासनको रकम एसपी बिष्टको खातामा जम्मा भएको हो त ?

एसपी बिष्टले आफ्नो खाताका सम्पूर्ण स्टेटमेन्ट दिन तयार भएको र दोषी भए कारबाही भोग्नसमेत तयार भएको बताएका छन्। उनले भने, ‘मेरो खातामा कहीँ कतैबाट अनुचित तवरको रकम जम्मा भएको छ भने कारबाही भोग्न तयार छु । मेरो खाताको सम्पूर्ण स्टेटमेन्ट देखाउन तयार छु।’

त्यस्तै, गणका हाकिमले गलत गरेको पाइए कारबाही हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए । ‘सार्वजनिक हाजिरी विवरण वास्तविक हो भने त्यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी अनुपस्थित हुने विषयसमेत धेरै गम्भीर हो । त्यसैले गणका हाकिममाथि समेत अनुसन्धान हुनेछ’, उनले भने।

गलत गर्ने जो कोही पनि कारबाहीको भागिदार हुने प्रवक्ता खड्काले बताए। ‘रासन भत्ताको नालीबेली छताछुल्ल हुने चिन्ता होइन, कसैलाई ढाकछोप गर्न आवश्यक छैन’, प्रवक्ता खड्काले भने, ‘चिफसा’पले समेत यस विषयमा चासो राख्नुभएको छ। घटनाको सत्यतथ्य छानबिन हुन्छ।’

प्रतिक्रिया दिनुहोस्