अधुरै रह्यो विदुरको सिनेम्याटोग्राफी स्कुल सपना



काठमाडौं । नेपालको पहिलो डिजिटल फम्र्याटको फिल्म ‘कागबेनी’का छायाकार विदुर पाण्डेको बुधबार बिहान हृदयाघातका कारण ५५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा परिवार जति दुःखी छ, त्यति नै दुःखी प्रोडक्सन डिजाइनर अनन्त तिमल्सिना छन्।

अनन्तसँग सहकार्य गर्दै विदुर नेपालमै पहिलोपटक सिनेम्याटोग्राफी स्कुल खोल्ने तयारीमा थिए। तर विदुरको निधनसँगै त्यो तयारीमा पूर्णविराम लागेको छ।

‘विदुर दाइसँग सहकार्य गरेर स्कुल खोल्ने विषयमा मानसिक रुपमा तयार थियौँ। कहिले खोल्ने भन्ने टुङ्गो लागिसकेको थिएन। उहाँलाई धेरै कलेजले सिनेम्याटोग्राफी पढाउनका लागि अफर गरे पनि जान मान्नुभएको थिएन’, १७ वर्षदेखि विदुरसँग सहकार्य गरेका अनन्तले भने, ‘उहाँ नयाँ पुस्तालाई डिजिटल क्यामेराको ‘बेसिक’ देखि ‘एडभान्स’ सम्मको शिक्षा दिन चाहनुहुन्थ्यो । अरु कलेजमा गएर त्यो शिक्षा बाँड्नुभन्दा आफैँ स्कुल खोलेर बाँड्ने उहाँको सपना थियो । तर अब सपनामै सीमित भयो।’

अनन्तका अनुसार विदुरसँग ९ वटा डिजिटल क्यामेरा थिए । जुन क्यामेराको प्रयोग गरेर डिजिटल क्यामेराको शिक्षा दिने योजना थियो। फिल्म ‘कागबेनी’ पछि विदुरले ‘मेरो बेस्ट फ्रेन्ड’, ‘पण्डित बाजेको लौरी’, ‘जङ्गबहादुरको कोट’, ‘स्वर’, ‘भुँइमान्छे’मा छायाकारको रुपमा काम गरेका थिए। पछिल्लो पटक उनले अष्ट महर्जनको फिल्म ‘गुञ्जन’को १ गीत खिचेका थिए।

‘उहाँ आफैँ पनि ओस्करमा छनोट भएको फिल्म ‘क्याराभान’को जस्तो क्यानभासमा फिल्म बनाउने सोचमा हुनुहुन्थ्यो । त्यसका लागि अध्ययन पनि गरिरहनुभएको थियो’, अनन्तले खुलाए। विदुर भदौ पहिलो साताबाट अभिनेता राजेश हमालले अभिनय गर्न लागेको नयाँ अंग्रेजी भाषाको फिल्मको छायाङ्कनको तयारीमा थिए ।

यो फिल्म मुगुको रारा क्षेत्रमा छायाङ्कन गर्ने योजना थियो। बेलायतमा फिल्म पढेका १ निर्देशकले बनाउने फिल्मका लागि विदुर मङ्गलबार साँझसम्म वर्कसपमा सहभागी थिए। ‘मसँगको कुराकानीमा उहाँ करियरमा नै पहिलोपटक आफ्नो क्यामेराको फ्रेममा राजेश हमाललाई अटाउन लागेकोमा खुसी र उत्साहित हुनुहुन्थ्यो’, अनन्तले सम्झिए।

सीतापाइलास्थित घरमा बुधबार बिहान हृदयाघात भएपछि विदुरलाई त्यहीँको सुविधासम्पन्न अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि अस्पतालले उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र रेफर गरेको थियो । तर अस्पताल पुर्‍याउनासाथ उनको निधन भएको थियो ।

उनले १५ सयभन्दा बढी म्युजिक भिडियो, दर्जनौँ विज्ञापन र वृत्तचित्रमा छायाङ्कन कला देखाइसकेका छन्। विदुरको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिँदै दाहसंस्कार गरिएको थियो।

विदुरको निधनमा फिल्म, सङ्गीत क्षेत्रका कलाकारले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरेका छन्। विदुरको परिवारमा श्रीमती र १८ वर्षे छोरा सिद्धार्थ छन्।

प्रतिक्रिया दिनुहोस्