एन्फाको बैठक आज बस्दै



काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठक आज (बिहीबार) बस्दै छ । ललितपुरस्थित एन्फा मुख्यालयमा तय भएको बैठकमा यसअघि तय भएका एजेन्डासहित थप ४ एजेन्डा समावेश भएका छन् ।

यसअघि बसेको कार्यसमिति बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको थियो। एन्फा कार्यसमिति बैठक बिहीबार १० बजे एन्फा कम्प्लेक्समा बस्दै छ। आज बस्न लागेको बैठकमा पुरस्कार राशि, महिला नकआउट प्रतियोगिता, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन र फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसम्बन्धी एजेन्डा थपिएका हन्।

यसअघि एन्फाले बैठकका लागि १८ वटा एजेन्डा तय गरेको थियो। पहिलो पटक एजेन्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो। त्यसअघिको पहिलो बैठक अध्यक्ष पङ्कजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो।

बिहीबारको बैठकमा एनएसएल र महिला साफ च्याम्पियनसिपको तयारीका बारे छलफल हुने छ। यो बैठकबाट विगतका सम्पूर्ण विवाद सकिने अपेक्षा रहेको एन्फा उपाध्यक्ष दावा तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्