छद्मभेषी पशु चिकित्साकर्र्मी पशुपालनमा चुनौती



  • डा. केदार कार्की

काठमाडौं । पशुपालन क्षेत्र हाम्रो जस्तो विकासशील कृषिप्रधान देशका लागि बलियो आधारस्तम्भ मानिन्छ। देशको आजको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले पुर्‍याएको योगदान हेर्दा विश्व प्रतिस्पर्धामा टिक्न अझ धेरै गर्न बाँकी त छ नै, साथै पशु चिकित्साकर्मीको विश्वसनीयता बचाउन पनि।

यो त्यतिबेला पूरा गर्न सकिन्छ, जब पशु स्वास्थ्य सम्वद्र्धनका लागि विश्वासिलो प्रयत्न गरिनेछ। यसका लागि पशु विकास तथा पशु स्वास्थ्य सम्वर्द्धनमा लागेकाको संयुक्त प्रयास हुनुपर्छ।

त्यसका लागि आज हाम्रा सामु चुनौतीका रूपमा छद्मभेषी रूपमा देखापरेका पशु चिकित्साकर्र्मीका कारण सिर्जना हुन पुगेका समस्याको समाधान खोजिनुपर्ने हुन्छ । उपयुक्त अध्ययन एवं पशुपालक कृषकका लागि त यो मन्द विष सरह भएको देखिन्छ ।

छद्मभेषी चिकित्साकर्र्मी, चाहे ती पशु स्वास्थ्य सेवा प्रवाह गर्ने हुन् वा मानव स्वास्थ्य सेवा प्रवाह गर्ने हुन्, यिनीहरू फुर्तीसाथ आफूलाई प्रस्तुत गर्छन्। सबै चिकित्साजन्य ज्ञान आफूसँग भएको भनी सेवाग्राहीलाई झुक्याएर यिनको उद्देश्य एउटै हुन्छ, त्यो भनेको सोझा सेवाग्राहीबाट पैसा कुम्ल्याउने।

यिनीहरू प्रायः पशु स्वास्थ्य सेवा प्रवाह गर्ने स्थापित निकायमा सानोतिनो जागिर खाएर दक्ष एवं विज्ञ पशु चिकित्साकर्मीको सहयोगीका रूपमा रहेका हुन्छन् । यिनले ती दक्ष एवं विज्ञसँग बिरामी जाँच गर्दा औषधि उपचार तथा रोकथामका उपायबारे दिने सरसल्लाह र सुझावको सूक्ष्म अवलोकन गर्ने गरेका हुन्छन् । त्यसका आधारमा उनीहरू आफैँ चिकित्सक भएको ठान्छन्।

उनीहरू पटकपटक सोहीअनुसारको प्रयोग गरी सर्वसाधारण कृषकलाई भ्रममा पारी धेरै गोठ अनि खोरमा पुग्छन्। यिनले पुर्‍याउने उपचार सेवा भनेको ‘झरे आँप, गए झटारो’ भनेजस्तै हुन्छ।

यिनको विशेषता भनेको स्थानीय छरछिमेकी हुनु अनि विभिन्न साइनो जोड्ने र चिकित्सा विज्ञानका जटिल शब्दावलीलाई सेवाग्राहीका लवज, बुझाइ र स्थानीयता हेरी उनकै बोली, भाषा अनि लवज प्रयोग गर्नुलाई मानिन्छ। यसरी यिनले सेवाग्राहीलाई भ्रम तथा विश्वासमा पारी आफ्नो स्वार्थ पूरा गर्छन् तर दुःख पाउने भनेको बोलीविहीन पशु पक्षी हुन पुग्छन्।

यस्ता छद्मभेषी पशु चिकित्साकर्मीको बिगबिगी हुनुमा सहायक भूमिका कसको त ? कृषक आफैँ दक्ष तथा विज्ञ पशुचिकिस्ताकर्मी त्यतिकै घरदैलो गर्दैनन् त्यस कारण यिनै छद्मभेषी उनका भरपर्दा सहयोगी हुनाले विश्वासमा पनि पर्छन् सर्वसाधारण ।

सरकारी सेवामा रहेका जिम्मेवारी पशु चिकित्साकर्मी, जो आफूलाई सरकारी आर्थिक–प्रशासनिक कार्यमा व्यस्त राख्न रुचाउँछन् अनि आफ्ना सहयोगीलाई पशु ‘यो बिरामले ग्रस्त पारेको होला, योयो औषधि, उपचार यसरी गर्नू’ भनी अह्राउँछन्, जसको प्रभाव सेवाग्राही चिकित्सक काम लाग्ने यिनै रहेछन् भन्ने भान हुन पुग्छ ।

केही औषधि उत्पादक संस्था, औषधि व्यापारमा संलग्न संस्थाले पनि यिनलाई विभिन्न खाले प्रलोभनमा पारी रोग जे लागे पनि आफ्नो उत्पादन प्रयोग गरेबापत बेलाबेलामा पुरस्कृत गर्छन् ।

पशु स्वास्थ्यमा हुने क्षति

यिनलाई पशुपक्षी के कारणले बिरामी परे भन्ने सोच्ने फुर्सद त हुँदैन बरु आफ्नो झोलामा भएको औषधि बेच्दा बढी नाफाको मात्र चिन्ता हुन्छ। सकभर यिनले सबै खाले औषधि एकै साथ प्रयोग गर्ने गराउँछन् ।

यिनलाई यस्ता विभिन्न समूहका औषधिको सहप्रयोगका कारण उत्पन्न हुन सक्ने रासायनिक अन्तरसङ्घर्षका कारण पशुको स्वास्थ्यमा पुर्‍याउने अकल्पनीय क्षतिबारे चिन्ता पो किन हुने भयो र ! यसको दुष्परिणाम भनेको विभिन्न खाले रोग लगाउने जीवाणु विषाणु, ढुसी, परजीवीमा विकसित हुने जाने औषधिप्रतिको सहनशीलताको विकास हो ।

यिनले एन्टिबायोटिक प्रयोग गर्ने भनेको सुरुमै सबैभन्दा कडा, त्यो पनि कि चाहिने मात्राभन्दा बढी वा कम त्यो एन्टिबायोटिक कति मात्रामा कति दिनसम्म र कसरी प्रयोग गराइनुपर्ने भन्दा यिनलानई के उपयुक्त वा सहज लाग्नेसम्म हो। कुन जीवाणु कुन एन्टिबायोटिकप्रति सम्वेदनशील वा सहनशील छ भन्ने कुरा यिनीहरूका लागि कुनै अर्थ राख्दैन।

त्यसैले होला आज चर्चा छ, वातावरणमा एन्टिबायोटिक सहनशील जीवाणुको बिगबिगीको। अर्कातर्फ पशुपक्षीलाई झाडापखालाले सतायो भने प्रतिपरजीवीको प्रयोग यिनले गर्नु सामान्य मानिन्छ– कारण जे भए पनि।

कस्तो खाले परजीवीबाट पशु ग्रस्त भए, कस्तो खाले प्रतिपरजीवी औषधि कति मात्रामा दिने वा थप्नै पर्ने ? कहिले ? भन्ने चिन्ता यिनमा कमै पाइनछ बरु कडा खाले उच्चतम मात्रामा दिने गरेको सामान्य रूपमा दिनु, बिरामी निको नभए सोही समूहको वा अन्य समूहको प्रतिपरजीवी औषधि दिनु सामान्य मानिन्छ ।

यसरी प्रतिपरजीवीजन्य औषधिको उच्चतम मात्रा प्रयोग गर्दा यसले निम्त्याउने परिणामको न्यूनीकरणको उपाय अवलम्बन गर्न यिनलाई फुर्सद नै किन पथ्र्यो ? अझ यी छद्मभेषी पशु चिकित्साकर्मीहरू कहिलेकाहीँ जटिल प्रकृतिका शल्यक्रिया गर्न पनि पछि पर्दैनन् ।

यसो गर्दा अपनाउनुपर्ने पूर्वसङ्क्रमण निरोधकका न्यूनतम उपाय अवलम्बन गर्न यिनलाई फुर्सद किन होस् । त्यसको परिणाम बिरामीले ज्यान गुमाउने जोखिम त रहन्छ नै, घाउ पाकी जनावरले पाउने दुःख आफ्नै ठाउँमा छ ।

किनभने यिनले प्रयोग गर्ने शल्यक्रिया गर्न चाहिने सामान भनेको एउटा सर्जिकल ब्लेड, एउटा सिरिन्ज र एउटा निडल त हो । किन्यो, एक पटक प्रयोग गरी हजार पटक निर्मलीकरण र निसङ्क्रमण के हो, यिनलाई के चिन्ता ?

जीउमा कतै सुन्निएको यिनले देख्न पनि हुँदैन । झोलाबाट झिक्यो, सियो खोप्यो सुटुक्क । अझ थुनबाट दूध आएन भनेर सोध्ने हो भने ‘थुनमा काठ, बाँस र कुनै धातुको सुइरोले घोचे दूध आइहाल्छ’ भनिदिए भयो । ‘यो गाई÷भैँसीले दूध दिँदैन है ! मेरो कुरा मन नपरे जानू सोध्न ती डिग्री बोकेका पशु चिकित्सकलाई’, पनि भन्न सक्छन् ।

यी छद्मभेषी पशु चिकित्सकको ठूलो योगदानको कुरा बिर्सन हुँदैन । त्यो भनेको हाम्रो किसानको घरमा त्यो गर्भ टिकाउन सकेन, यसलाई बाँझोपन भनिन्छ । पशु प्रजनन विज्ञानको भाषामा पशुहरूको वंशाणुगत सुधार अनि उत्पादकत्व छोटो समयमा वृद्धि गर्ने विधि कृत्रिम गर्भधारण विधि सल्पानजानीले आविष्कार गर्‍यो ।

आज यी छद्मभेषी पशु चिकित्साकर्मीका कारण हामी बहुमूल्य दुधालु गाई, भैँसीमा बाँझोपन अनि गर्भ उल्टिने समस्या भेटिरहेका छौँ । वीर्य कहाँ र कति बेला राख्ने, हेक्का त यिनलाई के होला र ! वीर्य जडित बन्दुक, त्यो पेटमा हाले पुग्ने, क्षति भए त्यो निरीह प्राणीको यौनाङ्ग मात्र होइन, पाठेघर अनि गर्भस्थलको त के कुरा, वीर्य पुग्छ पेटमा, पाठेघर स्थलमा हुने सङ्क्रमणले निम्त्याउँछ मेट्राटिस इन्डो मेट्राइटिस अनि पायोमेट्र ।
हेर्दा साँच्चै मेरो गाई, भैँसी अब ब्याउने भयो भनेर ढुक्क हुन्छ किसान । गर्भिणी बेथाले च्यापेपछि निश्चित समयावधिमा बच्चा जन्मन्छन् ढिलो र चाँडो, यो विज्ञानको नियम हो । तर, कहिलेकाहीँ समस्या आउँछ नै । यिनका लागि यो पैसा थुत्नु सरल माध्यम पनि बन्छ ।

बच्चा गर्भस्थलमा कुन अवस्थामा कसरी अवस्थित छ र कसरी निस्कन खोजिरहेको छ भनी उनलाई यसको चिन्ता गरी पो रहनु किन पर्‍यो ? गर्भस्थलमा रहेको बच्चाको जे भाग भेट्यो त्यो तानेर निकाली दिँदा पुग्छ बरु माउको गर्भस्थल नै बाहिर किन नआओस् ?

कहिले काही बच्चा स्वाभाविक रूपमा जन्मेपछि साल अड्किने गर्छ, त्यसमा धेरै रोगजन्य कारण पनि हुन सक्छन्, सोहीअनुसार सालनाल छुट्याउन सक्ने दक्षताको खाँचो पर्छ । तर, यिनलाई साल थुतेर पराक्रम गरेजस्तो हुन्छ । यस्तो बेला पशुले मृत्युवरणसम्म गर्नुपर्ने हुन्छ । बाँची हाले जीवनभर बाँझोपनको सिकार हुनुपर्छ ।

यसबाहेक कहिलेकाहीँ गर्भिणी दुधालु गाई, भैँसीमा उपयुक्त पोषण व्यवस्थापन नगरिएको अवस्थामा गर्भाशय उल्टो गरी फर्केर बाहिर आउने गर्छ, जसलाई भन्डारो फर्किने भनिन्छ । यस्तो बेला यी छद्मभेषी पशु चिकित्साकर्मी छु भन्नेले गर्ने भनिएको जबर्जस्ती भित्र पसाइदिने मात्र हो ।

यसरी बाह्य वातावरणमा प्रस्तुत भएको त्यो सम्वेदनशील प्रजनन अङ्गको निर्मलीकरण, निसङ्क्रमण अनि यथास्थितिमा प्रतिस्थापन तिनको प्राथमिकतामा त परेन, जसका कारण पशुले मृत्युवरण गर्नुपर्नेसम्म हुन्छ । पशुपक्षीमा प्रयोग गरिने खोप निष्प्रभावी हुनुमा यिनको भूमिका रहेको अधिकांश विकासशील देशमा मानिन्छ ।

यी खोप जैविक प्राकृतिक हुने कारणले यिनलाई उपयुक्त चिस्याइलो ताक्रममा सञ्चय एवं पारवाहन गरिनुपर्ने वैज्ञानिक मान्यता विश्वव्यापी छ। तर, यिनले गर्ने भनिएको एग्रोभेटबाट २ टुक्रा बरफ राखेर गोठमा पुगेर लगाएको खोपको विश्वसनीयता कति हुन्छ ? झन विडम्बना त के छ भने, ख्यातिप्राप्त निर्माताको एक भायल यिनले किने भने त्यो कहिल्यै सकिँदैन ।

त्यो भायलमा कति पशुलाई पुग्ने हसन्छ ? भन्दा यिनले कतिलाई पुर्‍याउने मात्र चिन्ता गर्छन्। भनिन्छ– एउटा पशुलाई प्रयोग गरेको सिरिन्ज र निडल अर्कोेलाई प्रयोग गर्नुहुँदैन । तर, यिनले एक पटक यो किने भने अर्को किन्ने फुर्सद पो किन पर्नुपर्‍यो ?

यसलाई रोक्न के गर्नुपर्ला ?

यस्ता छद्मभेषी पशु चिकित्सकहरूको प्रस्ट पहिचान गरी उनको दुष्कर्मका लागि दण्डित गर्ने व्यवस्था गर्नुपर्छ। सँगै, ऐन, कानुन निर्मम रूपमा लागू गर्नुपर्ने हुन्छ। यदि कुनै वैधानिक पशु चिकित्सकले यस्ता कार्य गर्न सघाउन मद्दत गर्न लागेको पाइएमा तिनलाई पनि ऐन, नियममा व्यवस्था भएअनुसार कार्बाही गनुपर्ने हुन्छ।

छद्मभेषी पशु चिकित्सकहरूलाई सघन निगरानीमा राखिनुपर्छ । समग्र सेवाग्राहीलाई यस्ताबाट तपाईंको पशु धनको क्षति हुन्छ भनेर सजग गराउनुपर्छ । छद्मभेषी पशु चिकित्सक र औपचारिक पशु चिकित्सक, जसले विधिवत् पशु चिकित्सा विज्ञानमा कम्तीमा स्नातक तहको अध्ययन गरेकामा फरक हुन्छ भन्ने सूचना प्रवाह गरिनुपर्छ ।

सरकारी पशु स्वास्थ्य प्रवाहको सेवा अझ बृहत् रूपमा पशु पालक कृषकको घरदैलोसमम पुर्‍याउन पहल गर्नुपर्छ। सोहीअनुसार जनमानसलाई सूचना र सेवाको पहुँच पु¥याउने प्रयास गरिनुपर्छ।

यी र यस्ता अमानवीय व्यवहार जसले जहाँ गर्छन्, तिनलाई तिरस्कार गर्नुपर्छ। पशु धनीले यस्ताको विश्वास गर्दा आफूले पालेको पशु धनीले भोग्नुपरेको पीडा र बेहोर्नुपरेको आर्थिक क्षतिका बारेमा पनि सोच्नुपर्ने हुन्छ।

दर्ता भएको पशु चिकित्सकले यस्ता कार्य प्रोत्साहित गर्नुहुँदैन। भएको देखिन्छ भने सामूहिक प्रतिरोध गर्न सक्नुपर्छ अनि मात्र पशु चिकित्सक पेसा मर्यादित हुन्छ।

प्रतिक्रिया दिनुहोस्