जम्मू–कश्मीर विवाद : राजपाले भन्यो, ‘सरकारले गुमराहमा नराखोस्, कश्मीरबारे मुख खोलोस्’



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले कस्मिरमा भारत र पाकिस्तानबीच उत्पन्न विवादबारे सरकारको स्पष्ट धारणा मागेको छ । सरकारको धारणा आएपछि अरू दललाई पनि विचार बनाउन सजिलो हुने भन्दै राजपाले संसद् बैठकमार्फत सरकारको धारणा माग गरेको हो ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा राजपा नेपालका नेता महेन्द्रराय यादवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले कस्मिरको विषयमा नजिकबाट नियालेको बताए पनि त्यो पूर्ण रूपमा नआएको बताए । ‘कस्मिरको सम्बन्धमा परराष्ट्रमन्त्रीले नजिकबाट नियालेको भन्नुभयो । सरकारले गुमराहमा नराखोस् । कस्मिरबारे मुख खोलोस् । यसले राजनीतिक दललाई आफ्नो विचार बनाउन सहज हुन्छ,’ यादवले भने । यो समाचार आजको नयाँ पत्रिका दैतिनकमा लेखिएको छ । 

नेपाल भारत प्रबुद्ध समूह (इपिजी)ले प्रतिवेदन तयार पारेर भारत र नेपालका प्रधानमन्त्रीलाई बुझाउने तर्खरमा छ । इपिजीले तयार पारेको प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न आनाकानी गरेको टिप्पणी भइरहँदा राजपाले भने इपिजी नयाँ गठन गर्नुपर्ने माग गरेको छ ।

नेपालको अधिकांश सीमाक्षेत्र मधेससँग जोडिएको भन्दै नेता यादवले इपिजीमा नेपालको तर्फबाट रहेका सदस्य एउटा पनि मधेसी मूलको नभएको भन्दै असन्तुष्टि जनाए । ‘इपिजीको सदस्यको नाम एकपक्षीय छ । सामुदायिक हिसाबले पनि उचित देखिन्न । यस्तो इपिजीले निकास दिँदैन, नयाँ गठन गर्नुपर्छ,’ उनले भने । 

नेकपाकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग गर्नेको संख्या बढेको भन्दै नियमन, नियन्त्रण र कारबाही गर्नुपर्ने बताइन् । ‘स्वतन्त्रताभित्र अराजकता अट्न सक्दैन । लोकतन्त्रभित्र छाडातन्त्र अट्न सक्दैन । सामाजिक सञ्जालको दुरुपयोगले नेपाली जनताको मनोविज्ञान बिग्रिदै गएको छ । फोटो जोडेर युट्युब च्यानलमा मिथ्या कुराको व्यापार गरिन्छ । झुटो सूचना सम्प्रेषण गरेर जनतालाई भ्रममा पार्न पाइँदैन,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस्