महाधिवेशन उन्मुख राजपाको कमजोर तयारी  



काठमाडौं : पार्टी एकता भएको तीन वर्ष पुग्नै लाग्दा महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय जनता पार्टी (राजप) नेपालको केन्द्रीय कार्यालय बबरमहलमा त्यति चहलपहल देखिदैन । अध्यक्ष मण्डलका सदस्य दिनहु जसो आएपनि कार्यकर्ताहरुको चाप देखिदैन । 

अध्यक्ष मण्डलको बैठक बीचबीचमा बसेपनि महाधिवेशन सम्बन्धी ठोस निकर्ष र निर्णय भने आउन सकेको छैन । महाधिवेशनका लागि आवश्यक पर्ने जिल्लादेखि केन्द्रसम्मको आवश्यक तयारी हुन नसकिरहदा नेता तथा कार्यकर्तामा समयमै महाधिवेशन हुने कुरामा शंका व्यक्त गर्छन् ।  

यता काठमाडौं उपत्यका बाहिर पनि महाधिवेशनको खासै तयारी भएको देखिदैन । राजपाको केन्द्रीय विभाग र जनसंगठनहरु पनि क्रियाशिल देखिदैन । 

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलाई महाधिवेशन आउन करिब ८० दिन बाँकी छ यो अवधिभित्र महाधिवेशन हुन्छ भनेर सोध्दा उनले ८० दिन धेरै भएको बताए । 

मधेशकेन्द्रीत ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) गत वैशाख ७ गतेदेखि तेस्रो वर्षमा प्रवेश गरिसकेको छ । पार्टी गठन भएको २८ महिना वितिसक्दा पनि राजपाले एकता महाधिवेश गर्न सकेको छैन । तर, विधानमा भने दुई वर्षभित्रै महाधिवेशन गर्ने उल्लेख छ । 

विगतमा महाधिवेशको समय तोकिए पनि हुनै सकेन । त्यसोत अब पनि तोकिएकै मितिमा माहाधिवेशन हुन्छ भन्ने कुरामा नत नेताहरुले नै ढुक्कका साथ भन्न सक्छन् नत कार्यकर्ताहरुमा नै विश्वास छ । यसको कारण हो तयारीले तीव्रता नपाउनु ।  महाधिवेशनका आधारभूतर महत्वपूर्ण मानिने सदस्य संख्याको सदर्भमा पनि राजपमा आधिकारीक तथ्यांक पाइदैन । अध्यक्ष मण्डलका एक सदस्यका अनुसार जिल्ला जिल्लामा नेतृत्वमै विवाद रहदा जिल्लाबाट केन्द्रमा पठाउनु पर्ने सदस्यहरुको तथ्यांक केन्द्र आइपुगेको छैन । 

तीन वर्षमा जम्मा एक चोटीमात्रै राजपाको केन्द्रीय कमिटीको बैठक बसेको छ भने त्यस यता बैठक बस्न समेत नकिरहेको बेला तोकिएकै मितिमा महाधिवेशन हुनेमा शंका देखिएको छ । 

हुनत निर्वाचन आयोगमा दल दर्ता भएको मितिले दुई वर्षभित्र महाधिवेश गरिसक्नु पर्ने थियो । तर, एउटै पार्टीमा दुई–दुई महिनामा संयोजक फेरिरहदा महाधिवेशनका कामहरु अगाडि बढाउन असहज भएको बताइन्छ । त्यसोतअध्यक्ष मण्डलका छजना छ तिर फर्किएका छन् ।  

गत वैशाख ७ देखि ९ हुने भनिएको महाधिवेशन स्थगित गरेर आगामी कात्तिक २८, २९ र ३० गते गर्ने घोषण गरेको छ । 

२०७४ असार ३० मा निर्वाचन आयोगले ६ पार्टीको एकीकरणलाई वैधानिकता दिएको थियो  । राजपाको विधानमा पनि दुई वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख छ । 

उता राजपाले विधानअनुसार महाधिवेशन नगरे उसको वैधानिकतामाथि नै प्रश्न उठ्ने देखिन्छ । तर, नेताहरू भने महाधिवेशन गराउने भन्दा पनि नेतृत्वको बारेमा बढी चिन्तित देखिदै आएको छन् । 

राजपा अध्यक्ष मण्डलको संयोजक शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको राजपा पदाधिकारी बैठकले महाधिवेशन कात्तिकमा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले महाधिवेशनको तयारीका लागि महन्थ ठाकुरको नेतृत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति तयार गरिएको थियो । त्यसपछि भने महाधिवेशनको कुनै तयारी भएको देखिदैन । 

७ वैशाख २०७४ मा तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो । 

पार्टीका अध्यक्ष मण्डलमा नेता राजेन्द्र महोत, राजकिशोर यादव, शरद्सिंह भण्डारी, महन्थ ठाकुर, अनिल झा र महेन्द्र यादव रहेका छन् । 

यसैबीच द नेपालटपले राजपा अध्यक्ष मण्डलका नेता अनिल झालाई महाधिवेशनको तयारी के भइरहेको छ भनेर सोध्दा उनले प्रयास जारी रहेको बताए । 

‘तोकिएको मितिमा महाविधेशन गर्ने तयारी भइरहेको छ । यसको लागि हामी छलफल गर्दै छौं ।’ उनले भने, ‘महाधिवेशनको लागि सदस्यता संख्या जम्मा गर्ने तयारी भइरहेको छ । अहिलेसम्म सदस्यता संख्या जम्मा भइरकेको छैन । तर, महाधिवेशभन्दा अगाडी सबै तिरबाट सदस्य संख्या जम्मा गर्ने प्रयास छौं ।’

नेता झाले पार्टीको हालका केन्द्रीय समितिका सबै सदस्यहरु, प्रतिनिधिसभा–प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फ सबै उम्मेदवारहरु, बसै जिल्ला अध्यक्ष मण्डलका सबै सदस्यहरु, स्थानीयतहका प्रमुख–उपप्रमुख पदका सबै उम्मेदवारहरु, समन्वय समितिका प्रमुख–उपप्रमुखहरु र मनोनित केही सदस्यहरु समेतको महाधिवेशन प्रतिनिधि बन्न सक्ने बताए । 

अहिलेसम्म राजपाको केन्द्रीय कमिटी बैठक एक चोटो मात्र बसेको छ त्यसपछि किन बस्न नसकेको भन्ने विषयमा नेता झाले भने, ‘पार्टी ठूलो भएकोले बस्न नसकेको हो । सधै भरी बोलाई राख्न अप्ठेरो भएको बैठक बस्न नसकेको हो । अब बोलाउनु पछि ।’ 

यसैगरी पार्टी संघीय संरचनाबारे सोध्दा उनले नेपालको संविधान र पार्टीको विधान अनुसार हुने बताए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र समाजवादी पार्टी नेपाल र अन्य दललाई हेर्ने दृष्टिकोणके भनेर सोध्दा उनले सबै पार्टीलाई समान दृष्टिकोणले नै हेर्ने बताए । 

‘समाजवादी पार्टीसँग एकताको लागि कुनै पहल भएको छैन ।’ उनले थप्दै भने, ‘अहिले पार्टी महाधिवेशनको तयारीमा छ ।’ 

 

प्रतिक्रिया दिनुहोस्