मगर महिलाको अगुवाइमा बाटो ग्रावेल 



अमरेश कुमार मिश्र 

काठमाडौं : कर्मचारीले रकम भुक्तानिमा सास्ति दिए पनि गोलबजार नगरपालिकामा उपभोक्ता समितिहरुले विकास निर्माणलाई भने तिव्रता दिएका छन् । यस्तैमा मगर समुदायका महिलाहरुको अगुवाईमा गोलबजार नगरपालिका १ स्थित मुक्सार मगर गाउँमा करिब ६ सय मिटर बाटो ग्रावेल गरिएको छ । मगर महिला सम्मिलित सडक मर्मत उपभोक्ता समितिले वडासँग समन्वय गरेर बाटो ग्रावेल गरेका हुन् । सात सदस्यीय उपभोक्ता समितिमा सबै मगर महिला मात्रै छन् ।

‘गाउँको बाटो ग्रावेल नहुँदा वर्षायाममा हिलाम्मे भएर हिँड्नै गार्हो हुन्थ्यो’, समितिकी अध्यक्ष ६० वर्षीया कान्छीमाया मगरले भनिन्, ‘त्यसैले हामी महिलाहरुले सडक ग्रावेल गर्न वडालाई गुहार्यौँ । वडाले दिएको एक लाख रुपैयाँले ४ सय मिटर बाटो ग्रावेल गर्यौँ अनि श्रमदानबाट थप २ सय मिटर गरी ६ सय मिटर बाटो ग्रावेल गरेर भर्खर सक्यौँ ।’

मगर गाउँमा मगर समुदायका ७२ घर छन् । 

बाटो ग्रावेल गरेपछि नगरपालिका भरी यहाँका मगर महिलाहरुको प्रशंसा हुन थालेको छ । सबैको प्रशंसाले हौसिएका उनिहरु अब गाउँको समग्र विकासमा सक्रिय हुने तयारीमा छन् । 

गाई भैंसी र खसी बाख्रा र कुखुरा पालनमा उनिहरुले नगरपालिकासँग अनुदान माग्न र गाउँमा भएको प्राथमिक विद्यालयको स्तरोन्नती गरी निमावि बनाउन नगरपालिकालाई आग्रह गर्न समितिकी अध्यक्ष कान्छिमाया, सचिव जिर कुमारी आले, कोषाध्यक्ष छलिमाया थापा मगर शुक्रवार गोलवजारस्थित नगरपालिकाको कार्यालय आएका थिए । १० कक्षासम्म पढेकी सचिव जिर कुमारीले भनिन्,  ‘गाउँको विकासमा हामी महिलाले पनि केही योगदान गरौँ भनेर नगरपालिकालाई झकझक्याउन आएका हौँ ।’ 

नगरपालिकाका प्रवक्ता उमेश बरालले मगर महिलाहरुले सस्तोमै बाटो ग्रावेल गरेर नगरपालिकाका सबैलाई अचम्मित बनाएको बताए । 

‘उहाँहरुको कामको उचित मूल्याकंन गर्दै मगर गाउँको अन्य विकास निर्माणको काममा पनि लगाउने हाम्रो योजना छ ।’ प्रवक्ता बरालले भने, ‘मगर महिलाहरुको सिको गर्दै अन्य वडामा पनि महिलाहरुको उपभोक्ता समिति बनाएर महिलाहरुकै अगुवाईमा विकास निर्माणको काम गर्ने तयारीमा हामी छौँ ।’

प्रतिक्रिया दिनुहोस्