सिट बाँडफाँडका यी आधारबारे छलफल



काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो।

बैठकमा सहभागी १ नेताकाअनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ।

गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चितता लगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ।

आज छलफल भएका आधारहरुका बारेमा आ-आफ्नो दलमा छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको उनको भनाइ छ। बैठक साउन ३० गते बस्ने जनाइएको छ।

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ। गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन्।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन्। कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्