सिट भागबन्डामा जुटे गठबन्धन दल



काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँटबारे बहुविकल्पमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकले सिट बाँडफाँटको मोडालिटीका सैद्धान्तिक आधार खोजी गर्न थालेको नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमालले जानकारी दिए।

नेताहरूका अनुसार २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने पहिलो विकल्प बैठकमा पेस भएको छ।

दलहरूले विगतमा पाएको समानुपातिक मतलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने अर्को प्रस्ताव पनि बैठकमा पेस भएको छ। तर, गठबन्धन आवद्ध नेकपा एस नयाँ पार्टी भएकाले उसले पाएको मत कति हो भन्ने विषय पेचिलो बन्ने देखिएको नेताहरूको भनाइ छ।

‘विगतमा पाएको मतलाई मात्र आधार बनाएर सिट बाँडफाँटको छलफल गरिए निष्कर्षमा पुग्न सकिँदैन किनकि नेकपा एस नयाँ पार्टी भएकाले स्थानीय तह निर्वाचनबाहेक उसको विगत नै छैन’, नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले भने, ‘त्यसैले अहिले नै मोडालिटी तयार भएको छैन, सकारात्मक छफलमा छौँ ।’

उनका अनुसार पार्टीभित्र आन्तरिक छलफलपछि ३० साउनमा अर्को बैठक बसेर थप रणनीति बनाइँदै छ। ४ मङ्सिरका लागि निर्वाचन घोषणा भएपछि सत्तारूढसहितका दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन्।

कांग्रेसले ६० प्रतिशत सिट आफूले पाउनुपर्ने ‘बटमलाइन’ यसअघि नै सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्र कम्तीमा दोस्रो शक्ति बन्नेगरी आफूले सिट पाउनुपर्ने पक्षमा छ।

नेकपा एस भने विगतमा एमालेले पाएको सिट र आफूसँग भएका सांसद बराबरको सिट पाउनुपर्ने अडानमा छ।

प्रतिक्रिया दिनुहोस्