छोराको हत्यापछि आमाको हत्या गर्ने योजना



काठमाडौं । गत २० साउनमा धनुषा जनकपुर उपमहानगरपालिका– ७ स्थित माछा बजारका १८ वर्षीय अजय भन्ने अर्जुनकुमार साह घरबाटै बेपत्ता भए । परिवारले छोरा हराएपछि प्रहरीमा खोजी कार्य गरिदिन भन्दै निवेदन दिए।

खोजतलास गर्ने क्रममा महोत्तरी लोहारपट्टी नगरपालिका–८ भगवानपुरचौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकखण्डमा बाटोको पश्चिम साइडमा २३ साउनको अन्दाजी १० बजेको समयमा साह मृत अवस्थामा फेला परे । परिवारले नै उनलाई मृत भेटेका हुन्।

त्यसपछि मृतक साहका आफन्तहरूले शव भेटिएको बारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई खबर गरे । एसपी पंगेनीले तत्काल प्रहरी निरीक्षकको कमान्डमा अधिकृतसहितको टोली अनुसन्धानका लागि खटाए।

प्रहरी अधिकृतसहितको टोलीले घटनाका सम्बन्धमा घटनास्थल र लास जाँच मुचुल्कासमेतको कार्य गरी प्रारम्भिक अनुसन्धान गर्दा साहलाई हत्या गरी उक्त घटनास्थलमा फालेको पाइयो। साहलाई अपहरण गरी कर्तव्य गरी मारेर फालेको हुँदा मृतकका बुबा दिलीप साहले अनुसन्धान गरी पाऊँ भनी महोत्तरी प्रहरी कार्यालयमा निवेदन दिए। घटनास्थल महोत्तरी थियो ।

महोत्तरी प्रहरीले घटनालाई गम्भीरतापूर्वक लियो। अनुसन्धानको क्रममा साहको घाँटी कसेर हत्या गरेको खुल्यो। एकान्त ठाउँमा साहको शव भेटेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा साहको हत्यामा ५ जनाको संलग्नता रहेको खुलेको एसपी पंगेनी बताउँछन्।

महोत्तरी प्रहरीले साहको हत्यामा संलग्न ५ जनालाई नै पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार पत्रकार सम्मेन गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा महोत्तरी लोहारपट्टी नगरपालिका– ९ खुट्टापिप्राढी बस्ने २३ वर्षीय जितकुमार यादव, उनका भाइ कृष्ण यादव, धनुषा शहीदनगर नगरपालिका–३ घर भई महेन्द्रनगरमा बस्ने बिगुल मुखिया, उनकी श्रीमती २१ वर्षीया किरण भन्ने प्रमिला महरा र धनुषा जनकपुर उपमहानगरपालिका– ७ जिरोमाइल बस्ने सन्तोष कुमार साह सुडी छन् ।

जितकुमार यादवका भाइ कृष्ण यादव र बिगुल मुखियाकी श्रीमती प्रमिला महराको पूर्वयोजनाअनुसार जितकुमार यादव र सन्तोष कुमारले मृतक साहलाई लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भमा जाने भनी झुक्याई भेट्न बोलाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

३० हजारमा साहको हत्या !
साहको हत्या ३० हजार रुपैयाँको प्रलोभनमा भएको प्रहरीको दाबी छ। कृष्ण यादवले पूर्वयोजनाअनुसार दाजु जितकुमार यादव र सन्तोषकुमार साह सुडीलाई अजय भन्ने अर्जुन साहलाई मारेमा ३० हजार रुपैयाँ दिने भनी प्रलोभन देखाएका थिए।

प्रमिला महरा, उनका श्रीमान् बिगुल मुखिया र आफूबीच सल्लाह भएको बताउँदै कृष्ण यादवले अर्जुन साहलाई मारेमा ३० हजार रुपैयाँ दिने भनी प्रलोभन देखाएपछि जितकुमार र सन्तोषले सोहीअनुरूप योजना बनाएर भेट्न बोलाएका थिए।

२० साउनको साँझतिर जितकुमारले साहलाई फोन गरेर लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भ जानपर्ने भयो– आउनपर्यो भन्दै बोलाए । १ हजार रूपैयाँमा जाने सहमति भयो। जितकुमार र सन्तोषलाई टेम्पोमा राखेर साह फुलबरिया गाउँतिर हिँडे।

उनीहरू मृतक साहसहित जितकुमार र सन्तोष महोत्तरी लोहारपट्टी नगरपालिका–८ भगवानपुरचौरस्थित भ्रमरापुराबाट लोहारपट्टी जाने भित्री सडकखण्ड पुगे । तर, साहलाई के थाहा– आफूलाई यिनीहरूले मार्न लैजाँदै छन् भनेर। रात छिप्पिँदै थियो । सोही मौकामा टेम्पोको पछाडि बसेका जितकुमारले साहको घाँटीमा गम्छाको पासो लगाइहाले।

करिब ५ मिनेटसम्म घाँटी थिचेपछि साहको मृत्यु भयो। टेम्पोभित्रै घाँटीमा पासो लगाई कसेपछि साहको मृत्यु भएको निशिचत भएपछि उनीहरूले शव सोही बाटोको पश्चिम साइडमा रहेको नहरमा फालिदिए।

घटनापछि उक्त टेम्पो सन्तोषसँगै बसेर जितकुमारले चलाएर धनुषा जनकपुर उपमहानगरपालिका– ७ मुसहरी टोलस्थित माँ जानकी सप्लायर्स प्रा.लि. बालुवा डिपो नजिकको हिलो सडकमा छाडेर उनीहरू फरार भए।

मृतककी आमाको समेत हत्या गर्ने योजना

साहको हत्या गर्नुको कारणबारे अनुसन्धानको क्रममा प्रहरीले केही ‘क्ल’हरू फेला पारेको छ। अभियुक्तहरूले सुरुमा मृतक साहको भन्दा पनि उनकी आमाको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताए।

करिब १ वर्षअघि प्रमिला महरा, निजका श्रीमान् बिगुल र कृष्ण यादव मिलेर मृतक साहको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका गरगहनासमेत चोरी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ।

करिब ६ महिनापछि मृतक साहकी आमाले प्रमिला महरा र कृष्ण यादवलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेर धम्क्याएकी थिइन् । त्यहीँबाट उनीहरूले मृतक साहकी आमाको समेत हत्या गर्ने योजना बनाएका थिए।

प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी उक्त रकम तिर्नका लागि प्रमिलाका श्रीमान् बिगुलले १ लाख १७ हजार रुपैयाँ र कृष्णले २ लाख ४६ हजार रुपैयाँ दिनेगरी कागज भएको थियो। जनकपुरमा बसेर तमसुक बनाएपछि उनीहरू फरार भएका पाइएको प्रहरीको भनाइ छ ।

करिब २०–२५ दिन अगाडि फरार रहेका उनीहरूलाई मृतक साहकी आमाले जनकपुरमा देखिन्। जनकपुरमा देखेपछि तमसुकबमोजिमको आफ्नो पैसा नतिरेमा प्रहरीमा उजुर गर्छु भनी त्यहाँ पनि डर देखाइन्।

पक्राउ पर्ने डरले उनीहरूले त्यतिबेला केही भनेनन् । त्यसपछि उनीहरूले मृतक साह र आमाको हत्या गर्ने योजना बुने। आफूहरूलाई प्रहरी हिरासतमा लगिदिन सक्ने डरले किरण भन्ने प्रमिला महरा, उनका श्रीमान् बिगुल र कृष्ण यादवले साह र उनकी आमालाई मार्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

एसपी पंगेनीका अनुसार त्यसपछि साहको आमाले लगाएको सुनका गरगहना र घरमा रहेको नगद र जनकपुरमा बनाएको तमसुकसमेत लुट्ने योजना उनीहरूको थियो । तर, उनीहरूले अजयको हत्या गरे पनि आमाको हत्या गर्न पाएनन् । अजयकी आमाको हत्या गर्ने उनीहरूको योजना महोत्तरी प्रहरीले असफल पारिदिएको हो ।

पक्राउ परेका जितकुमार यादवको साथबाट एक्स–एजीई कम्पनीको के५०१ मोडलको नीलो रङको की प्याड मोबाइल, रेडमी १० प्राइम मोबाइल र मृतक साहको हत्यामा प्रयोग गरिएको सेतो गम्छा, हरियो रङको टी–र्सट, फुल पाइन्ट बरामद भएका छन्।

यस्तै, सन्तोषकुमारका साथबाट रेडमी १० प्राइम कम्पनीको की–प्याड मोबाइल, सेतो रङको फुल पाइन्ट, कालो रङको फुल बाउला भएको टी–र्सट बरामद भएका छन् भने कृष्ण यादवको साथबाट नोकिया एन७० मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

किरण भन्ने प्रमिला महराको साथबाट कालो रङको बेन्को कम्पनीको ई२० मोडलको की–प्याड मोबाइल बरामद भएको छ। पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्