मकवानपुरमा बढ्यो चुनावी सरगर्मी



  • सुमन दाहाल

हेटौँडा । ४ मङ्सिरका लागि प्रदेश र सङ्घको निर्वाचन घोषणा भएसँगै देशभर चुनावी सरगर्मी बढेको छ। २०७२ मा संविधान जारी भएसँगै देशले ४ मङ्सिरमा दोस्रो पटक नयाँ कार्याकालका लागि नयाँ प्रतिनिधि पाउँदै छ।

देशभर नेपाली कांग्रेस, नेकपा माओवादी, नयाँ पार्टी नेकपा एससहित ५ दलीय सत्ता गठबन्धन चुनावी तालमेल गरेर अघि बढ्ने तयारी गरिराख्दा हालसम्म नेकपा एमाले भने एक्लै चुनावी मैदानमा रहेको छ। एमालेसँगै राप्रपा र राप्रपा नेपालले पनि हालसम्म कुनै पनि दलसँग तालमेल गरेका छैनन्।

चुनावी मिति घोषणा भएसँगै बाग्मती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा पनि आउँदो निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्लान् भनेर चर्चा सुरु भएको छ। प्रत्यक्षतर्फ २ प्रतिनिधि र ४ प्रदेशसभा सदस्य रहेका छन्।

कम्युनिस्ट पार्टीको लालकिल्ला मानिने मकवानपुरमा मङ्सिरमा हुने निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पक्का देखिएको छ।यसअघिको पहिलो सङ्घ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन कांग्रेस र राप्रपाविरुद्ध नेकपा एमाले र नेकपा माओवादीको चुनावी तालमेल थियो भने यसपटक उल्टो छ अर्थात् नेपाली कांग्रेस र नेकपा माओवादीसँगै अन्य ५ दल एकै ठाउँमा छन् भने नेकपा एमाले एक्लै चुनावी मैदानमा देखिँदै छ।

यसअघि २०७४ मा भएको निर्वाचनमा जिल्लाको २ वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए भने ४ वटा प्रदेशमा पनि ३ वटामा तत्कालीन नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवार विजयी हुँदा १ सदस्यमा कांग्रेस विजयी बनेको थियो।

क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट विजयी बनेका पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका विरोध खतिवडा हाल नयाँपार्टी नेकपा एसमा छन्। उनी आउँदो निर्वाचनमा पनि सत्ता गठबन्धनबाट उम्मेदवारी तयारी गरिरहेका छन् भने क्षेत्र नम्बर १ बाट विजयी बनेका कृष्ण दाहाल पनि एमालेबाटै उम्मेदवार बन्न तयारी गरिरहेका छन्।

एमाले केन्द्रीय सदस्य दाहालसँगै १ नम्बर क्षेत्रबाट एमाले नेता रघुनाथ खुलाल र मदनकुमार दाहालको पनि चर्चा रहेको छ। खुलाल एमाले बाग्मती प्रदेश सदस्य हुन् भने मदन जिल्ला सचिवाल सदस्य हुन्।

मदन हालै स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरको प्रमुखका आङ्काक्षीसमेत हुन्। तर पार्टीले अनन्त पौडेललाई टिकट दिएपछि उनी ब्याक हटेका थिए।

जिल्लाको २ नम्बर क्षेत्रमा एमालेबाट विजयी बनेका खतिवडाले पार्टी परिवर्तन गरेसँगै आउँदो निर्वाचनमा एमालेबाट बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेल, पूर्व संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी, महेश बर्तौलाको चर्चा रहेको छ। स्रोतका अनुसार पौडेल यसपटक उम्मेदवार बन्ने मनसायमा नरहेका कारण एमालेबाट ठकुरी र बर्तौलामध्ये १ जना उम्मेदवार बन्नेछन्।

यता, ५ दलीय सत्ता गठबन्धनबाट १ नम्बर क्षेत्रमा कांग्रेस बाग्मती प्रदेश सभापतिसमेत रहेका प्रदेश सदस्य इन्द्रबहादुर बाँनियाको चर्चा रहेको छ भने २ नम्बर क्षेत्रमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नयाँ पार्टी नेकपा एसबाट विरोध खतिवडासँगै नेकपा माओवादीका नेता रामनारायण बिडारीको चर्चा रहेको छ।

स्रोतका अनुसार गठबन्धनबाट खतिवडाले टिकट पाउने सम्भावना बलियो रहेको छ। यद्यपि, गठबन्धनमा हालसम्म कुन दलले कुन क्षेत्र लिने भन्ने सहमति भएको छैन।

नम्बर १ बाट चुनाव लड्दै कमल थापा

यसै गरी, पटकपटक सत्ता साझेदारी गर्ने चर्चित राजनीतिज्ञ राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ कै हुन् । ३ पटक उपप्रधानमन्त्रीसहित ९ पटक मन्त्री बनिसकेका ६७ वर्षीय थापाले मङ्सिरमा हुने सङ्घको निर्वाचनमा भाग लिने तयारी गरेका छन् ।

थापा यसपटकको निर्वाचनमा एमालेसँग तालमेल गरी उम्मेदवारी दिएर विजयी बन्ने रणनीतिमा छन्। थापा यसअघि ७४ मा भएको पहिलो सङ्घको निर्वाचनमा कांग्रेससँगको चुनावी तालमेलबाट निर्वाचनमा होमिएका थिए। तर थापा नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनबाट उम्मेदवार रहेका एमालेका दाहालसँग ५ हजार ९७३ मतान्तरले पराजित भएका थिए।

थापाले कांग्रेसले धोका दिएको कारण पराजित भएको समेत बताएका थिए। यस्तै मकवानपुर क्षेत्र नम्बर १ बाटै राप्रपाबाट दीपकबहादुर सिंह पनि निर्वाचनको तयारीमा जुटिसकेका छन्।

राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका सिंह हालै भएको स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा पराजित भएका थिए। यसै गरी, प्रदेश सदस्यहरूमा क्षेत्र नम्बर १ को ‘क’बाट सत्ता गठबन्धनबाट माओवादीका प्रेमबहादुर पुलामी, विजयी गौतम, कांग्रेसबाट दामोदर खनालको चर्चा छ भने एमालेबाट कमल विष्ट, अणराज जर्गामगर र सीता विष्टको चर्चा हुँदा १ कै ‘ख’बाट गठबन्धनबाट कांग्रेसका आनन्दराम पराजुली, भीमसेन महतको चर्चा रहँदा एमालेबाट एकालाल श्रेष्ठ र श्रीधर पोखरेलको चर्चा छ।

प्रदेश सदस्यहरूमा २ नम्बर क्षेत्रको ‘क’मा गठबन्धनबाट कांग्रेसका बुद्ध लामा, सन्तबहादुर चेपाङको चर्चा हुँदा एमालेबाट लालबहादुर थापाको चर्चा रहेको छ। क्षेत्र नम्बर २ को ‘ख’मा गठबन्धनबाट कांग्रेसका प्रमोदकृष्ण जोशी, माओवादीबाट लवशेर विष्टको चर्चा हुँदा एमालेबाट विष्णु ढकालको चर्चा रहेको छ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा मकवानपुरको १० स्थानीय निर्वाचनमा ८ स्थानीय तहको अध्यक्ष÷उपाध्यक्षमा ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने २ स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्